सुदूरपश्चिमका सबै नौ ओटै जिल्लामा खुलेका औषधि पसलहरूको अनुगमन नगरिएका कारण गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सुदूरपश्चिमभर अवैध औषधि विक्री वितरण गरेको अधिकारकर्मीहरूले आरोप लगाएका छन् ।
मानव स्वास्थ्यका लागि भन्दै खोलिएका १ हजार ३ सय ७१ ओटा औषधी पसलबाट अवैध औषधि विक्री वितरण भइरहेको उनीहरूले आरोप लगाएका हुन् ।
त्यस्ता पसलहरूको अनुगमन गर्ने जिम्मा पाएको औषधि व्यवस्था विभाग नेपालगञ्जले केही वर्षदेखि अनुगमन नै नगरेको जनाएको छ । अनुगमन गर्ने निकायले अनुगमन नगर्दा अधिकांश औषधि पसलहरूले बढी मुल्यमा औषधी विक्री गर्ने गरेको मानवअधिकारकर्मी प्रेम साउदको आरोप छ ।
सरकारले मान्यता दिएका औषधिहरू बेच्नको लागि सञ्चालन अनुमतिपत्र दिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरिक्षक पुष्प रानाले जानकारी दिए । कार्यालयमा कर्मचारी अभावमा अनुगमन गर्न नसकिएको समेत रानाले बताए ।
औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायणप्रसाद ढकालले औषधि पसलहरूले त्यस्ता औषधिहरू अवैध तरिकाले बेच्न नपाइने थाहा हुँदाहुँदै औषधि पसलेहरूले विक्री गरिरहेको बताएका छन् ।
उनका अनुसार गर्भपतन गराउने औषधि विक्रीको लागि औषधि पसलले स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागबाट अनुमति लिनु पर्ने हुन्छ । सबै कुराको जानकारी हुँदाहुँदै पनि अनुगमन प्रक्रियासमेत सम्बन्धित निकायले अगाडि बढाउन सकेको छैन् ।
फुटकर औषधि विक्री गर्ने पसलहरू सेती अञ्चलमा ९ सय ५४ र महाकाली अञ्चलका जिल्लाहरूमा ४ सय १७ ओटा सञ्चालनको लागि दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगञ्जको तथ्यङकमा उल्लेख गरिएको छ । जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा ७ सय १७ ओटा त्यस्ता पसलहरू खुलेका छन् भने सबैभन्दा कम दार्चुलामा १७ ओटा मात्रै रहेका छन् ।