INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद: आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार खारेजीको माग गर्दै आएको ‘नो केवलकार’ समूहलाई सरकारले वार्तामा बोलाएको छ ।

मन्त्रीस्तरीय वार्तामात्रै गर्ने अडान राख्दै आएको समूहलाई प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठन गरिएको वार्ता समितिले फागुन १२ गते वार्ताका लागि आन्दोलनरत पक्षलाई आह्वान गरेको हो ।

photo 20250224 Taplejung

पाथीभरा क्षेत्र र  फुङलिङ नगरपालिका-५ वीरेन्द्र चोकमा फागुन १० गते  प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएपछि विकसित भएको घटना क्रमपछि सरकारले आन्दोलनरत पक्षलाई पुन वार्ताका लागि बोलाएको हो ।

प्रतिनिधिसभा र कोशी प्रदेशसभा बैठकमा सांसदहरूले पाथीभरा केलवकार विवाद समाधान गर्न  माग गरेका थिए । गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा गठन गरेको वार्ता टोली एवम् वार्ता टोली संयोजक भट्टराईले फागुन १२ गते विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्नु भएको हो ।

आन्दोलनरत पक्ष र सरकारबिच ०८१ माघ २२ गते पहिलो चरणको वार्ता भएपछि तत्कालका लागि केवलकार निर्माण स्थगन गरिएको थियो । माघ २७ गते आन्दोलन पक्षले मन्त्रीस्तरीय वार्ता मात्र गर्ने भनेपछि पुन केवलकार निर्माणको कार्य सुचारू भएको थियो ।

केवलकार निर्माण खारेजीको माग गर्दै आएको समूहसँग फागुन १० गते फुङलिङ नगरपालिकामा भएको झडपपछि तत्काललाई केवलकार निर्माण स्थगन गरिएको छ । सरकारले तत्काल केवलकार निर्माण स्थगन गर्ने र वार्ता र सम्वादका माध्यमबाट सहमति खोज्न वार्ताका लागि आवहन गरेको छ ।

पाथीभरा क्षेत्रमा केवलकारको विरोधमा आन्दोलन चर्किएपछि सरकारले ०८१ माघ २० गते वार्ता टोली गठन गरेको थियो । माघ २२ गते आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको थियो । सो सहमतिपछि माघ १५ गतेदेखि नो केबलकार पक्षले घोषणा गरेको यातायात बन्द फिर्ता भएको थियो ।

सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीचको वार्ता माघ २७ गते निश्कर्षविहीन भएको थियो ।  माघ २८ गते आन्दोलरत पक्षले गृहमन्त्री रमेश लेखकसँग भेट गरेको थियो ।

अन्य

भिडियो