टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन आधारभूत स्वास्थ्य अस्पताल भवनको काम अलपत्र छाडेर ठेकेदार भागेपछि स्थानीयले सहज स्वास्थ्य सेवा प्रवाहबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।
टेम्केमैयुङ गाउँपालिका-७ कोटमा ०७८ सालदेखि दुई वर्षभित्र सम्पन्न गर्ने गरी १५ शैयाको अस्पताल निर्माण थालिएको भएपनि ठेकेदारले पुरा काम नगरी भवन अलपत्र पारेपछि स्थानीयले सहज स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको गुनासो गरेका हुन् ।
ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि अस्पताल निर्माणको कार्य अलपत्र भएको छ भने स्थानीयलाईसहज ढङ्गमा स्वास्थ्य सेवा लिन समस्या भएको छ ।
अस्पताल निर्माण गर्ने भनि ०७८ सालमा शिलान्यास गरिएको भएपनि ठेकेदारले आदि काम गरेर निर्माण कार्य अलपत्र पर्दा आधारभूत स्वास्थ्य अधिकारबाट स्थानीय वञ्चित हुनु परेको टेम्केमैयुङ गाउँपालिका-७ कोटका भवानी नेपालले बताउनु भयो । रुघा खोकीजस्ता समस्यामा समेत जिल्ला अस्पताल, भोजपुर जानु पर्ने अवस्था रहेकोमा नेपालले गुनासो गर्नुभयो ।
“हामीले अस्पताल निर्माणको लागि भातखाने खेत र बारी दिएका थियौँ”उहाँले भन्नुभयो,“अहिले काम अलपत्र छाडेको छ । रुघा खोकी लागे जिल्ला अस्पताल जानु पर्ने बाध्यता छ । यहाँ अस्पताल निर्माण भएपश्चात सहजता होला भनेर कुनै प्रवाह नगरी सहयोग गरेकाथियौं । तर अहिले ठेकेदार सम्पर्कविहीन छ । सरकारले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर काम सुचारु गर्न हामी माग गर्दछौँ ।” नेपालले भन्नुभयो ।
सहज रुपमा स्वास्थ्य सेवा पाउने आसामा यहाँका देश विदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर साढे १३ रोपनी जग्गा व्यवस्थापन गरेर अस्पताल निर्माणको काम शुरु भएको स्थानीय योगेन्द्र कटुवालले बताउनु भयो ।
“अस्पताल निर्माण हुन्छ, सुविधा पाइन्छ भनेर देश विदेशमा रहेका तथा स्थानीयसँग हारगुहार गरेर जग्गा खोज्यौँ” उहाँले भन्नुभयो,“अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ । ठेकेदारले निर्माण स्थलमा रहेका सामग्री उठाएर लग्यो । काम अलपत्र छ । अस्पताल निर्माण भए स्वास्थ्य सेवा लिन सहज हुने थियो ।”
दुई वर्षमा निर्माण गरिसक्नु पर्ने अस्पताल चार वर्ष बितिसक्दा समेत निर्माण नहुँदा स्थानीयहरुले उपचारका लागि जिल्ला सदरमुकाम जानु पर्ने बाध्यता रहेको टेम्केमैयुङ गाउँपालिका ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनु भयो । “ १५ शैयाको अस्पताल निर्माण कार्य अलपत्र छ ।
आधारभूत स्वास्थ्य अस्पताल निर्माण नहुँदा गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिकाहरुले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।” वडाध्यक्ष नेपालले भन्नुभयो “स्थानीय तहको तर्फबाट हामीले आवश्यक साथ सहयोग दिएका छौँ । ठेकेदारले कोटबासीको विश्वासमा घात गरेको अवस्था छ । कामलाई सुचारु गराउन सवैले भूमिका खेल्न आवश्यक छ ।”
अस्पताल सम्झौता अनुसार ०८० सालको असार महिनामा सम्पन्न गर्ने गरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो । सम्झौता अवधि सकिँदा करिव १० प्रतिशत काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन भएकोे गाउँपालिकाले जनाएको छ ।
काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर आवश्यक प्रक्रिया अघि बढाउने टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । “गाउँपालिकाको तर्फबाट अस्पताललाई गुणस्तरीय ढंगले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ” उपाध्यक्ष राईले भन्नुभयो,“कार्यपालिकाबाट निर्णंय गरेर कामलाई चाँडो गर्न पत्रचार गरेका छौँ । तर अहिले ठेकेदार सम्पर्कविहीन अवस्थामा छ ।
अस्पताल भवन समयमा सम्पन्न गराउन पहल गरेको भएपनि ठेकेदार म्याद थप गर्नसमेत नआएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो । पछिल्लो समयमा आएर ठेकेदार सम्पर्कविहीन भएको उहाँको भनाइ छ ।
गाउँपालिकाले आवश्यक सहयोग गर्दा पनि ठेकेदारले काम अलपत्र पारेको अध्यक्ष बस्नेतले बताउनु भयो । अस्पताल निर्माण कार्य अलपत्र पर्दा आधारभूत स्वास्थ्य अधिकारबाट यहाँका नागरिक वञ्चित हुनु परेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।
“ठेकेदारले अस्पताल निर्माणको काममा चासो नदिएको अवस्था छ” अध्यक्ष बस्नेतले भन्नुभयो,“ गत असारमा म्याद सकिएको छ । हामीले म्याद थपको लागि पत्रचार गर्दा गरेका छौँ । अहिले सम्पर्कविहीन भएको अवस्था छ । यहाँ अस्पताल बनेपछि टेम्केमैयुङ- ६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुने अध्यक्ष बस्नेतको भनाइ छ ।
नेपालको संविधानको धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
तर, जिल्लाका दुर्गम क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत वञ्चित हुनु परेको अवस्था छ ।


