सिरहा जिल्लाको लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
अस्पतालमा दैनिक ३० जना भन्दा बढी सेवाग्राहीहरू थाइरोइड जाँच गराउन आउने गरेको अस्पतालका ल्याव टेक्नीसियन कासिन्द्र यादवले बताउनु भयो । तर, थाइरोइड जाँचका लागि प्रयोग हुने उपकरण बिग्रिएकोले विगत एक हप्तादेखि अस्पतालमा आउने लाभग्रहीहरू सेवाबाट बञ्चित हुनु परेको यादवले बताउनु भयो । ल्याव टेक्नीसियन यादवका अनुसार यस अस्पतालमा थाइरोइड जाँचको सेवा शुल्क मात्र ८ सय रुपियाँ लाग्ने भएकोले उक्त सेवाका लागि आउने धेरै जसो गरिब तथा विपन्न वर्गका मानिसहरूलाई सहज भए तापनि केहि दिन यता सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । त्यसैगरी, थाइरोइड जाँच गर्ने उपकरण समयमा मर्मत हुन नसक्दा सेवाग्राहीहरू मर्कामा परेको उहाँले बताउनु भयो ।
लहान नगरपालिका-२० की कोशिला यादवका अनुसार लहानस्थित मुरारका अस्पतालमा थाइरोइड जाँचका लागि आवश्यक उपकरण बिग्रिएको र समयमा मर्मत हुन नसक्दा आफू जस्ता कयौँ गरिब मानिसहरू मर्कामा परेको दुखेसो सुनाउनु भयो । “यस अस्पतालमा थाइरोइड जाँचका लागि मात्र ८ सय रुपियाँ लाग्दछ भने अन्त निजि अस्पताल तथा क्लिनिकहरूमा १ हजार ५ सय रुपियाँ पर्न जान्छ” कोशिला यादवले भन्नु भयो । उहाँले भन्नु भयो, “हामी जस्ता विपन्न वर्गका मानिस जसले ज्याला मज्दुरी गरेर छाँक टर्छन उनीहरूले कहाँबाट ल्याउने १ हजार ५ सय रुपियाँ । तसर्थ, अस्पताल व्यवस्थापन समितिले सक्दो छिटो उक्त उपकरणको मर्मत गरी अथवा नयाँ उपकरण खरिद गरी सेवाग्राहीहरूलाई सेवा उपल्ब्ध गराउनु हुन विनम्र अनुरोध गर्नुभयो” ।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ट बिजेन्द्र साहले थाइरोइड जाँच गर्ने उपकरण बिग्रिएका कारण सेवामा पर्न गएको अवरोध प्रति दुःख व्यक्त गर्नुभयो । साथै उहाँले उक्त उपकरण एक पटक मर्मत गरे तापनि पुनः बिग्रिएको हुनाले मर्मत सम्भारका लागि टेक्निसियनलाई बोलाएको र चाँडै मेसिन ठिक गराइ सेवा सूचारु गर्ने आश्वासन दिनु भयो ।