INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा ३९ जना तीर्थयात्रीको उद्दार

पाथीभरा (मुकुम्लुङ) दर्शनका क्रममा आन्दोलनरत पक्षको बन्दका कारण अलपत्र अवस्थामा रहेका तीर्थयात्रीको इन्सेकको समन्वयमा उद्दार गरिएको छ ।

पाथीभरा मन्दिरको दर्शनका लागि ताप्लेजुङ आइ अलपत्र परेका यात्रुलाई इन्सेक  र सशस्त्र प्रहरीको समन्वयमा उद्दार गरिएको हो ।

अलपत्र अवस्थामा रहेका तीर्थ यात्रुहरुको इन्सेकको पहलमा उद्दार गरिएपछि सञ्चार माध्यमले समाचार प्रकाशन गरेका छन् ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माण सुरु भएपछि निर्माण खारेजी पक्षद्धारा आह्वान गरिएको मेचीराज मार्ग, तमोर करिडोर र तेहृथुमसहितका नाकाबाट जिल्ला प्रवेश तथा बाहिरिने यातायात बन्दका कारण जिल्ला सदरमुकाम फुङलिङमा अलपत्र अवस्थामा रहेका ३९ जना यात्रुलाई इन्सेकसँगको समन्वयमा माघ १७ गते उद्दार गरी पाँचथरतर्फ पठाइएको सशस्त्र प्रहरी बल नेपाल  न. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका गुल्मपति, डिएसपी नरेश महर्जनले बताउनु भयो । उहाँले भन्नुभयो,“ इन्सेक ताप्लेजुङ प्रतिनिधिले अलपत्र अवस्थामा कास्की, काठमाडौँ, झापासहित विभिन्न जिल्लाका तीर्थयात्री फुङलिङमा अलपत्र अवस्थामा रहेको र सहयोग गर्न आग्रह गरेपछि प्रहरीले उद्दारको गरेको बताउनु भयो ।

इन्सेक ताप्लेजुङ पूर्व जिल्ला प्रतिनिधि देवराज गुरुङले पनि तीर्थयात्री अलपत्र परेको जानकारी गराएपछि सोही अनुसार सशस्त्र प्रहरीले बन्दका कारण अलपत्र परेका व्यक्तिहरुलाई सहायता कक्ष नै स्थापना गरी जिल्लामा अलपत्र परेका अन्य यात्रुहरु समेत खोजी गरी जिल्ला प्रशासन कार्यालय र  फुङलिङ नगरपालिकाको सहयोगमा अलपत्र तीर्थयात्रीहरुको स्वास्थ्य अवस्था जाँच बुझ गरी उद्दार गरिएको डिएसपी महर्जनले बताउनु भयो ।

सशस्त्र प्रहरीको जिम्मेवारी काबेलीसम्म भएपनि यात्रुको सुरक्षा व्यवस्था र अलपत्र नहुन भन्ने कुरालाई मध्यनजर गरी पाँचथर सदरमुकाम फिदिमसम्म पठाइएको डिएसपी नरेश महर्जनले बताउनु भयो ।

जिल्लामा ०८१ माघ १४ गतेदेखि अलपत्र रहेको अवस्थामा इन्सेकको पहल र समन्वयमा प्रहरीले उद्दार गरेपछि तीर्थयात्रीले खुशी व्यक्त गरेका छन् ।

पाथीभरा मन्दिर दर्शनका लागि काठमाण्डौंबाट जिल्ला आइ अलपत्र अवस्थामा रहनु भएका दिनेश शर्माले भन्नुभयो “पाँचदिनदेखि पाथीभरा दर्शन गर्नका लागि ताप्लेजुङ आएर बसि रहेका थियौँ । हामीलाई इन्सेक प्रतिनिधि एलिना दियाली, सशस्त्र प्रहरी ताप्लेजुङ र प्रसाशनले सहयोग गर्नुभयो र हामी गन्तव्यतर्फ लाग्दैछौँ सबैलाई धन्यवाद दिन चाहान्छु ।” साथै उहाँले जिल्लाको आन्तरिक विषयलाई लिएर आन्दोलन गरी पाथीभरा दर्शनका लागि आउने तिर्थयात्रीलाई समस्या हुने स्थिती नबनाइ दिए सहज हुने बताउनुभयो ।

सप्तरी राजविराजबाट पाथीभरा दर्शन गर्न आई अलपत्र पर्नु भएका अनिल कुमार मण्डलले पनि गन्तव्यतर्फ जान पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,“ काठमाडौबाट पाथीभरा दर्शनका लागि ताप्लेजुङ आए । पाथीभरा दर्शन गर्यौँ, तर दर्शन गरेपछि काफ्लेपाटी झरेपछि बन्द भन्ने थाहा भयो । इन्सेकको पहलमा प्रहरीले स्कटिङ गरेर सदरमुकाम सम्म ल्याइदिनुभयो ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण कार्य सुरु भएपछि आन्दोलनरत पक्ष र प्रहरीबिच ०८१ माघ ११ गते पाथीभरा क्षेत्रको बलु डाँडामा झडप भएको थियो ।

झडपमा प्रहरीसहित आन्दोलनरत पक्षका व्यक्तिहरु घाइते भएका छन् । केवलकार निर्माण खारेजको माग गर्दै आएको समूहले ०८१ माघ १५ गतेदेखि आफ्ना मागहरु पुरा नहुञ्जेलसम्मका लागि मेचीराजमार्ग, तमोर करिडोर र जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकाहरुमा यातायात बन्दको आह्वान गरेसँगै यात्रुहरु अलपत्र परेका हुन् ।

photo 20250129 Taplejung (1)

photo 20250129 taplejung 4

photo 20250129 Taplejung (3)

photo 20250129 Taplejung (2)

अन्य

भिडियो