INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्याका आरोपित पति र सासू गिरफ्तार

वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

मृतक सुस्मिताका बुबा लालबहादुर राजीले मङ्सिर ५ गते दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई घरबाट गिरफ्तार गरेको हो । अन्तरजातीय विवाह गरेको आरोपमा पति र सासूले पटकपटक कुटपिट गरी घर निकाला गरेको, मार्ने धम्की दिँदै आएको र मङ्सिर ४ गते दिँउसो घाँटी थिचेर हत्या गरेपछि घरकै कोलियामा पति र सासूले झुण्डयाएकोमा पछि झुण्डिएर आत्महत्या गरेको बहाना बनाएको ‘किटानी जाहेरी’मा उल्लेख छ ।

झुण्डिएर आत्महत्या गर्न खोज्दा तत्काल उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको भन्ने शाही परिवारको झूठो भनाई रहेको माइती पक्षले आरोप लगाएको छ । घाँटीमा औँलाको डाम देखिनु, शरीरका विभिन्न भागमा निलडाम हुनु, आफैँ झुण्डिएर आत्महत्या गरेको कुनैपनि लक्षण नदेखिनु, प्रहरी र माइती पक्षलाई समेत खबर नगरी आफूहरूले नै घरबाट शव उठाउनु तथा अस्पतालमा पुर्‍याउनु अघि नै सुस्मिताको मृत्यु भइसकेको क्षेत्रीय अस्पताल सुर्खेतको भनाईको आधारमा आत्महत्या नभई कर्तव्य गरी छोरीको हत्या गरेको प्रष्ट देखिने उजुरीमा आरोप लगाइएको छ ।

राजीले दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आदेश र सरस्वतीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर रमेश बाहोराले बताए ।

शवको पोष्टमार्टमपछि मङ्सिर ६ गते उनका आफन्तले दाहसंस्कार गरेका छन् । आदेश र सुस्मिता बिच ०७३ पुसमा प्रेमविवाह भएको थियो ।

अन्य

भिडियो