INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

बाँसगढी नगरपालिका-५ का नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् उद्याेगी व्यवसायी ५२ वर्षीय नरबहादुर वलीलाई कुटपिट गरेको आरोपमा अपरिचित व्यक्तिहरू विरुद्ध इलाका प्रहरी कार्यालय, बगनाहामा ०८१ पुस ४ गते उजुरी दिएको छ ।

ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँ बजारमा बिहान १० बजे अपरिचित व्यक्तिहरूले आफूलाई कुटपिट गरी लुटपाट समेत गरेको पीडित वलीले बताउनु भयो । उहाँले भन्नुभयो – ‘भुरिगाउँ बजारमा बिहान १० बजे चार जनाको समूहले कुटपिट गरेको हो । मसँग भएको ५ लाख ४९ हजार रुपियाँ समेत लुटपाट गर्‍यो । घटना लगत्तै इलाका प्रहरी कार्यालय, बगनाहामा उजुरी दिएको छु ।’

नेकपा एमाले जिल्ला कमिटीले ०८१ पुस ४ गते विज्ञप्ति जारी गर्दै बाँसगढी नगरपालिकाका उद्यमी व्यवसायी वली आफ्नो व्यापारिक कामका लागि भुरीगाँउमा जाँदा बजारको मुख्य चौकमा चार जना अपरिचित व्यक्तिहरूले साङ्घातिक हमला गर्नुका साथै निजसँग रहेको नगद समेत लुटि लगेको घटनाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ – ‘मुख्य बजारमा दिउँसै गुण्डागर्दी भइराख्दा पनि सुरक्षा निकायले ध्यान नदिनु साथै सुरक्षामा देखिएको त्रुटीप्रति दुःख व्यक्त गर्दछ । सुरक्षाको दृष्टिकोणले चहलपहल हुने भुरीगाँउको मुख्य बजारमा दिनदहाडै भएको निन्दनीय घटनाको घोर भत्सर्ना गर्दै, दोषी पत्ता लगाई दोषिलाई कानुनी कारवाहीको घेरामा ल्याउन सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछौँ ।’

बाँसगढी उद्योग वाणिज्य सङ्घका महासचिव विकास गौतमले वली माथि भुरीगाँउ चोकमा भएको कुटपिट घटनाप्रति आफूहरू संवेदनशील भएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरले घटना लगत्तै घटनामा संलग्न रहेकाहरूको अनुसन्धान गरिरहेको बताउनु भयो ।

अन्य

भिडियो