INSEC Online

📅 २०८३ जेष्ठ २१

ट्राफिक प्रहरीद्वारा एक युवकलाई यातना

लहान नपा-८ का ३० वर्षीय धनन्जय यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई लोकबहादुर दियालीले मङ्सिर ३ गते निर्घात कुटपिट गरेका छन् ।

लहान नपा-१ स्थित जिल्ला ट्राफिक कार्यालयका आरोपित सईको कमाण्डमा रहेको ट्राफिक प्रहरीहरूले पीडितलाई कार्यालय कोठामा लगेर कुटपिट गरेका हुन् ।

प्र्रहरीको कुटपिटबाट यादवको दाहिने आँखा मुनि काटिएको छ भने नाकबाट रगत बगेको छ । बिहान ८ बजे तिर आफ्नो मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फगइरहेका यादवलाई लहानस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि ड्यूटीमा रहेका ट्राफिक प्रहरीले मोटरसाइकल रोक्न लगाएका थिए ।

रोकिएको मोटरसाइकलको साँचो झिक्न लाग्दा किन साँचो झिक्नुभएको भनी प्रश्न गरेलगत्तै प्रहरीसँग मुखमुखै बोलेको भन्दै कार्यालय कोठामा लगेर कुटपिट गरेको पीडित यादवले आरोप लगाए ।

उनले भने-‘मलाई सडकबाट पिट्दै भित्र लग्दै थिए । मैले किन कुटेको भनेर छोडाउन प्रयास गरेपछि भित्र कोठामा लगेर सई दियालीसहितका प्रहरीहरूले लाठी, लात्ति र बुटले कार्यालय कोठा भित्र भुँइमा लडाएर कुटपिट गरे ।’

पीडितको स्वास्थ्य उपचार स्थानीय लिलामदन पोली क्लिनिकमा भएको छ । जिल्ला ट्राफिक कार्यालयका इन्सपेक्टर रूद्र चुडालले घटना हुँदा आफू कार्यालयमा नभएको प्रतिक्रिया दिए । घटनामा संलग्न प्रहरीहरूलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

अन्य

भिडियो