बागमती प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामध्ये चालु आर्थिक वर्ष ०८२/०८३ को जेठ महिनासम्म लैङ्गिक हिंसाका १ हजार ३ सय ३७ वटा घटना दर्ता भएका छन् । तीमध्ये ३ सय ७७ वटा लैङ्गिक हिंसा र ९ सय ६० वटा घरेलु हिंसाका घटना रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कअनुसार मकवानपुरमा ७१ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । उक्त अवधिका घरेलु हिंसासहित मकवानपुरमा कुल ३ सय १६ वटा घटना दर्ता भएका छन् । कुल घटनाको आधारमा चितवन ४ सय ९४ घटनासहित पहिलो र मकवानपुर ३ सय १६ घटनासहित दोस्रो स्थानमा रहे पनि लैङ्गिक हिंसाको छुट्टै तथ्याङ्कमा भने मकवानपुर सबैभन्दा अगाडि देखिएको हो ।
तथ्याङ्कअनुसार मकवानपुरपछि चितवनमा ६१, सिन्धुलीमा ५१, नुवाकोटमा ४२, सिन्धुपाल्चोकमा ३९, काभ्रे र धादिङमा समान ३८, रामेछापमा १८, दोलखामा १५ र रसुवामा ४ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएका छन् । घरेलु हिंसातर्फ भने चितवन ३ सय ३३ घटनासहित पहिलो र मकवानपुर २ सय ४५ घटनासहित दोस्रो स्थानमा छ । सिन्धुलीमा १ सय ३, नुवाकोटमा ९२, धादिङमा ६८, सिन्धुपाल्चोकमा ५८, दोलखामा २२, काभ्रेमा १७, रसुवामा १२ र रामेछापमा १० वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।
प्रदेशस्तरमा भने लैङ्गिक तथा घरेलु हिंसाका घटना क्रमशः घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ८ सय ८१ र आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ८ सय ३६ घटना दर्ता भएकामा चालु आर्थिक वर्षको जेठसम्म १ हजार ३ सय ३७ घटना दर्ता भएका छन्। प्रदेश प्रहरीको तथ्याङ्कअनुसार लैङ्गिक हिंसामध्ये बलात्कारका घटना सबैभन्दा बढी छन् । आर्थिक वर्ष २०८०/०८१ मा २ सय ८७, आर्थिक वर्ष २०८१/०८२ मा २ सय ५३ र चालु आर्थिक वर्षको जेठसम्म १ सय ९० वटा बलात्कारका घटना दर्ता भएका छन्। तीन आर्थिक वर्षमा मात्रै प्रदेशका १० जिल्लामा ७ सय ३० वटा बलात्कारका घटना दर्ता भएको तथ्याङ्कले देखाउँछ । यसै अवधिमा बहुविवाहका १ सय १७, बाल यौन दुराचारका १ सय ४८, बालविवाहका आठ, अभद्र व्यवहारका ९६, कर्तव्य ज्यानसम्बन्धी ५२ र गर्भपतनसम्बन्धी तीन वटा मुद्दा दर्ता भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीले चालु आर्थिक वर्षको जेठसम्म प्रदेशका १० जिल्लामा १ हजार ३ सय ३७ वटा लैङ्गिक तथा घरेलु हिंसाका घटना दर्ता भएको जानकारी दिँदै उजुरी दर्ताको सहज पहुँच, जनचेतना र कानुनी कारबाहीलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।