राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयमा ०८३ असार १८ गते राति सुरक्षा गार्ड ड्युटीमा रहेका प्रहरी जवान २२ वर्षीय अजय कुमार महतोले बोकेको एसएलआर राइफलबाट एक राउण्ड गोली चल्दा प्रहरी जवान २२ वर्षीय बिसोजित राय घाइते भएका छन् ।
कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नं. ३ मा ड्युटीमा रहेका नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर धनुषा दरबन्दीका प्रहरी जवान बिसोजित राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा रहेका थिए । शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नं. ४ मा ड्युटीमा रहेका प्रहरी जवान अजयले बोकेको राइफलबाट एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कम्मरमाथि ढाडमा गोली लागेका बिसोजितलाई तत्कालै गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लगिएको थियो । उनलाई थप उपचारका लागि घोपा क्याम्प, धरान रेफर गरिएको र घटना लगत्तै अजयलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपि हेमराज घिमिरेले बताउनु भएको छ ।