INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा रास्वपाका जिल्ला उपसभापतिलाई कुटपिट गरेको आरोप

अदानचुली गाउँपालिका–४, लौँठी घर भइ राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपसभापति ३६ वर्षीय महेन्द्र पाण्डेलाई नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । उपनिर्वाचनको तयारीमा रहेका उपसभापती पाण्डेलाई सर्केगाड गाउँपालिका केन्द्र सर्केगाड बजारमा उक्त पार्टीका कार्यकर्ताले ०८१ मङ्सिर २ गते घाइते हुने गरी कुटपिट गरेको पाण्डेले बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सर्केगाड गाउँपालिका–४, दुल्लीकी २८ वर्षीया सुजता थापालाई मङ्सिर १ गते नेपाली कांग्रेसका कार्यकर्ताले अपहरण गरी बन्धक बनाएपछि आफूले यस्तो नगर्न भन्दै अनुरोध गर्ने क्रममा कांग्रेसका कार्यकर्ताले टाउको र हातमा ठूलो चोट पर्ने गरी कुटपिट गरेको उपसभापति पाण्डेले आरोप लगाउनुभयो ।

कुटपिटपछि सोही दिन आफूले प्रहरी चौकी, सर्केगाडमा मौखिक उजुरी दिएको पण्डेको भनाइ छ । उक्त विषयमा सर्केगाड प्रहरी चौकीका सई एकबहादुर खड्कालाई बुझ्दा उहाँले अपहरण भएको कुरा खासै सत्य नभएको र कुटपिट भने सामान्य भएको खबर आएको बताउनु भयो ।

सामान्य घाइते भएका पाण्डेको सर्केगाड बजारमा रहेको नविन स्वास्थ्य क्लिनिकमा उपचार भएको छ । मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालका अनुसार घटना हुन नदिनका लागि सुरक्षा पहुँच बढाउने जानकारी दिनुभयो ।

अन्य

भिडियो