गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोल निवासी राष्ट्रिय दलित पत्रकार संघ, कैलालीका सहसचिव तथा सूचनाको हकका अभियान्ता ३० वर्षीय सुरेश भुललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका—११ का ६५ वर्षीय जंग भुल, ३४ वर्षीया रमा रावल, ३० वर्षीय धर्म वि.क., २३ वर्षीय विशाल वि.क. र १८ वर्षीय प्रकाश भुललाई ०८१ कात्तिक २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरुले कात्तिक २५ गते निर्घात कुटपिट गर्दा पत्रकार भुलको मृत्युभएको भन्दै पीडित पक्षले कात्तिक २६ गते इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलामा प्रहरी कार्यालय, मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताउनु भयो ।
सामान्य घटनालाई अतिरञ्जित गरी बाख्रा चोरी गरेर घरमा राखेको भन्दै सामुहिक रुपमा आएका व्यक्तिहरुको कुटपिटबाट गम्भिर घाइते भएका भुलको उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको पीडितका आफन्त सुरज भुलले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनढीमा राखिएको र पोष्टमार्टमको तयारी भइरहेको मृतकका आफन्तले बताउनु भयो ।
पत्रकार तथा सूचनाको हकका अभियान्ता भुललाई कुटपिट गरी हत्या गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासंघ,कैलाली र राष्ट्रिय दलित पत्रकार संघ,कैलालीले प्रेश विज्ञप्ति जारी गरी घटनामा संलग्नहरुलाई कारबाहीको माग गरेको छ ।


