पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती नगरपालिकामा मानवीय, भौतिकसँगै अन्नबालीमा समेत ठूलो क्षति पुगेको छ ।

पीडितहरूको उद्वार, राहत तथा पुनर्स्थापनामा सहयोग भइरहेको छ । ‘जताततै क्षति भएका कारण पनौती नगरपालिका भित्रको जनजीवन निकै प्रभावित भएको छ । प्राकृतिक प्रकोपको यस कठिन अवस्थामा खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत्, आवागमन लगायतका समस्याहरूबाट आम जनजीवन असाध्यै कष्टकर बन्यो ।’-विज्ञप्तिमा भनिएको छ ।

असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाका कारण आएको बाढी–पहिरोमा पनौती नगरपालिका भित्रका १८ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा धेरै व्यक्ति घाइते भएका छन् भने बाढी–पहिरोबाट ४ सय ९१ घर पूर्ण रूपमा र ६ सय ८७ घर आंशिक रूपमा क्षति भएका छन् ।

बाढी–पहिरोमा सबैभन्दा धेरै ९ करोड ४१ लख रुपियाँ बराबरको कृषि बालीमा क्षति भएको छ । जिल्लामा बाढी–पहिरोबाट करिव ४ हजार पशुपन्छी मरेकोमा सबैभन्दा धेरै पनौती नगरपालिकामा २ हजार १ सय पशुपंछी मरेका छन् । पहिरोमा पुरिएर सयौं रोपनी जग्गामा लगाइएको खेतीबाली पूर्ण रूपमा नष्ट भएको छ ।

पनौती नगरपालिकाले बाढी–पहिरो प्रभावितलाई विभिन्न सङ्घसंस्थाको साथ र सहयोगमा खाद्यान्न राहत वितरण सकेर आवास पुनर्निर्माणको तयारीमा जुटेको छ । बाढीपहिरोमा परेर मृत्यु भएकाको परिवारलाई सरकारले २ लाख रुपियाँका दरले क्षतिपूर्ति प्रदान गरेको छ ।

विपद्पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७७ ले घर, बहाल, आवास, नष्ट भए वा खाद्यान्न बाली तथा जग्गाजमीन वा पसल व्यवसाय नोक्सानी भई तत्काल गुजाराका लागि खाद्यान्न समेत नभएका परिवारलाई नगद राहत दिने व्यवस्था गरेको छ । यस्तो स्थितिका ५ सदस्यीय परिवारलाई तत्कालै १५ हजार रुपियाँ र त्योभन्दा बढी सदस्य भए प्रतिपरिवार २० हजार रुपियाँ राहत दिनुपर्छ ।

सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एकद्वार नीतिअनुरूप राहत वितरण गरिरहेको छ ।



















