अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ कात्तिक १४ गते सन् २०२४ को तेस्रो त्रैमासिक (जुलाइदेखि सेप्टेम्बरसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
इन्सेकको अभिलेख अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सन् २०२४ जुलाइदेखि सेप्टेम्बरसम्मको अवधिमा अन्यपक्षबाट महिला तथा बालबालिका बढी पीडित भए । यस अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय १३ जना महिला र २५ जना बालिका पीडित भए । जसमा राज्यपक्षबाट कुटपिट, अमानवीय व्यवहार र धम्किको घटनामा तीन जना पीडित भए । यस अवधिमा एक जनाको कारागारमा मृत्यु भयो ।
यसैगरी अन्यपक्षबाट पुरुष, महिला र बालिका गरी १ सय ६१ जना पीडित भए । अभिलेखित घटना अनुसार दुई जना महिलासहित पाँच जनाको हत्या भयो । यसैगरी कुटपिटबाट पाँच जना, अमानवीय व्यवहारबाट तीन जना, घाइतेबाट पाँच जना र धम्किबाट एक जना पीडित भए । यो अवधिमा बाल अधिकार उल्लङ्घनका घटनामा २५ जना पीडित भए । जसमध्ये २३ जना बालिका बलात्कार, एक जना बालिका बेचबिखन र एक जना बालिका यौन दुर्व्यवहारबाट पीडित भए ।
यसैगरी सबै भन्दा बढी महिला अधिकार उल्लङ्घनका घटनामा १ सय १३ जना महिला पीडित भए । जसमध्ये ३१ जना बलात्कार, ७६ जना महिला घरेलु हिंसा, एक जना महिला बोक्सीको आरोप र पाँच जना महिला बहुविवाहका घटनामा पीडित भए ।
कर्णाली प्रदेशको साविक कर्णालीका केही स्थानमा खाद्यान्न अभाव, भूकम्पपछि विद्यालयका भवन समयमा निर्माण नहुँदा पठनपाठनमा समस्या, दरवन्दी अनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या, अविरल वर्षाका कारण हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–५, बालमन्दिर माविका विद्यार्थी चौरमा बसेर पठन बाध्य भएका लगायतका घटना यस अवधिमा भएको पाइयो । भूकम्पपछि घरवारविहिन भएका जनता अस्थायी आवासमा सुरक्षित बस्न बनाएका टहरा पहिरोले बगाउँदा तीन जनाको यस अवधिमा मृत्यु भयो । मृत्यु हुनेमा जाजरकोट जिल्ला नलगाड गाउँपालिका–२, डाँडागाउँका एकै घरका थिए ।