इलामवासीले जिल्लालाई तीन महिनाका लागि सङ्कटग्रस्त घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
मनसुन सक्रिय भएसँगै लगातारको वर्षाका कारण मेची राजमार्गसहितका वैकल्पिक सडक एक महिनायता बाढीपहिरोका कारण अवरुद्ध भएपछि इलामवासीले जिल्लालाई सङ्कटग्रस्त घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।
दैनिक उपभोग्य सामग्री, औषधिलगायत अभावसँगै आर्थिक मन्दी भएपछि जिल्लावासीले इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।
मेची राजमार्गको माईखोलास्थित राजदुवाली सडकखण्डमा पहिरो गएपछि झापाबाट इलाम सदरमुुकामसहित पाँचथर र ताप्लेजुुङसम्मको सोझो यातायात सम्पर्क टुटेको महिनादिन भएको छ । एक महिनायता राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि र वैकल्पिक सडक पनि भरपर्दा नहुँदा इलाम बजार, बिब्ल्याँटे, पुवाखोलासहित जिल्लाका उत्तर पूर्वी र पश्चिमी क्षेत्रमा समेत दैनिक उपभोग्य सामग्री अभाव हुन थालेको छ ।
जिल्लामा इन्धन, खाना पकाउने ग्यासलगायतका सामग्री अभाव छ भने, बजारमा पाइने खाद्यान्न, तरकारीलगायतका सामग्रीमा पनि अधिक मूल्य बढेको छ । सडक नहुँदा अहिले औषधीको अभाव सुरु भएको र अस्पतालमा विषेशज्ञ डाक्टरसमेत नभएको इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौड्यालले बताउनु भयो । उहाँले भन्नुभयो, “अहिले विषेशज्ञ डाक्टर नहुँदा र सडक बन्द भएपछि सुत्केरी हुने अवस्थाका महिलाहरू झापाका अस्पतालको छेउमा गएर डेरा बस्न बाध्य भएका छन् । अब बाध्यताले इलाम छोड्नुपर्ने स्थिति बनिरहेको छ ।” अध्यक्ष पौड्यालले भन्नुभयो, “न त राजदुवाली चल्छ, न त वैकल्पिक सडक बन्छन् । यतिबेला इलामवासीले अत्यन्तै पीडादायी अवस्था भोगिरहनु परेको छ ।”
नेपाली कांग्रेस इलामका जिल्ला सचिव निरोज खड्गीले सिमलगोलाई–तिल्केनी र केचना–कन्चनजङ्घा दुवै सडकमा एम्बुलेन्स जाने अवस्था नभएको बताउनु भयो । राजदुवालीको पहिरोमा बिरामी बोकेर कटाउन कठिन छ । उहाँले एपेन्डिक्स भएको बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्दा बचाउन नसकिएको बताउनु भयो । सडक अवरुद्ध भएपछि त्यसको असर इलामलाई मात्र होइन, पाँचथर र ताप्लेजुङमा पनि उत्तिकै परेको छ । पाँचथर र ताप्लेजुङबाट झापा लैजाने बिरामीलाई छोटो पर्ने मेची राजमार्ग अवरुद्ध हुँदा समस्या परेको छ ।
सडक सम्बन्धविच्छेद भएपछि त्यसको असर होटेल, पर्यटन, यातायातसहित सबै जसो व्यवसाय र किसानमा परेको छ ।
इलाम नगरपालिकाले जिल्लास्थित सरोकारवालासँग राजमार्गसहित इलामको अवस्थामा विषयमा ०८३ साउन ७ गतेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले इलामलाई तत्काल विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।
गएको वर्ष असोज १८ गते रातिको वर्षा र बाढीले राजमार्ग बगाएपछि इलाम सङ्कटतर्फ धकेलिएको हो ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाले सङ्कटग्रस्त जिल्ला घोषणा गरेर नागरिकलाई आधारभूत आवश्यकता पूरा गर्नुपर्ने आवश्यकता भएको र स्थानीय सरकारले प्रदेश सरकारसहित सङ्घीय सरकारको समेत ध्यानाकर्षण गराउने बताउनु भएको छ ।