INSEC Online

📅 २०८३ श्रावण ८

त्रिपालमुनि पठनपाठन गर्न बाध्य विद्यार्थी

चङ्खेली गाउँपालिका–५, नेप्कागाउँको डाँफे आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी त्रिपालमुनि पठनपाठन गर्दै आएका छन् ।

०८३ जेठ ५ गते राति आएको पहिरोले विद्यालय भत्किएपछि चौरमा त्रिपाल टाँगेर पढाइ सुरु गरिएको थियो । विद्यालयका ६ ओटा भवनमध्ये पाँच ओटा भवन पहिरोले भत्काएको छ । विद्यालयका प्रधानाध्यापक बली तामाङले चौरमा त्रिपाल टाँगेर अप्ठेरो अवस्थामा विद्यार्थीलाई पढाइएको बताउनु भयो । उहाँका अनुसार विद्यालयको पर्याप्त जग्गा छैन । कक्षा ४, ५, ६ र ७ का विद्यार्थी त्रिपालमा पढिरहेका छन् ।

एउटा त्रिपालमा १२ देखि २० विद्यार्थी अट्छन् । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा अरू कक्षा भने जेनतेन पहिरोबाट बचेको एउटा भवनमा सञ्चालन भइरहेको छ । खुला चौरमा भन्दा त्रिपालमा केही सहज भएपनि पढ्ने र पढाउने वतावरण भने नभएको प्रध्यानाध्यापक तामाङले बताउनु भयो ।

विद्यालयमा ८३ जना विद्यार्थी अध्ययनरत छन् । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले विद्यालयको भवन निर्माणका लागि ३० लाख रुपियाँ  बजेट सामाजिक विकास कार्यालय अन्तर्गत व्यवस्था गरेको छ । पहिरोले नेप्कागाउँका स्थानीयका भेडा र खेती लगाएको जग्गासमेत बगाएको थियो ।

नन्द सिंह

अन्य

भिडियो