असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले रोशी गाउँपालिका–१ फलामेसाँघुमा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल, वडा नम्बर–११ कालढुङ्गामा रहेको औद्योगिक ग्राम, डम्फु पार्क, चिस्यान केन्द्र, सहित २९ ओटा विद्यालय भवनमा समेत क्षति पुगेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनु भयो ।
बाढी पहिरोले १२ जनाको मृत्यु, ५२ जना घाइते हुनुका साथै पक्की पुल र ५ ओटा झोलुङ्गे पुल, कालढुङ्गाको बस्ती बगाएको छभने वडा नं ४ थिङटोलमा सात घर पहिरोले पुर्नुका साथै ५ सय भन्दा बढी घर बगेको प्रारम्भिक तथ्याङ्क रहेको अध्यक्ष लामाले बताउनु भयो । मृतकका परिवारलाई गाउँपालिकाले प्रति परिवार ५० हजार रूपियाँ दशैं अगाडि नै उपलब्ध गराएको छ । खानेपानीको १७ हजार किमी पाइप वितरण गरिसकिएको लामाले बताउनु भयो ।
वडा नं –८ मा रहेको देवीश्वरी प्रावि, वडा नं ५ सिसाखानी घिसिङटोलको विद्याविकास भवनको कक्षाकोठा र विद्यालय परिसर पुरिएको, वडा नं ७ को अमरनाथ प्रावि परिसरसहित रोशी खोलाले कटान गरेको, वडा नं ९ मङ्गल जनविजय मावि परिसरमा बाढी पसेर कम्पाउण्ड वाल बगाएको, वडा नं १० पञ्चकन्या मावि वाल्टिङ विद्यालयमा बाढी पसेर क्षति भएको, वडा नं ११ कालढुङ्गामा रहेको शान्तिबुद्ध प्राविको भवन खोलाले कटान गरेको र वडा नं ४ ज्वालादेवी प्रावि खोला कटानका कारण जोखिममा रहेको उपाध्यक्ष मिम बहादुर वाइबाले जानकारी दिनु भयो ।
त्यस्तै वडा नं ११ भीमेश्वर माविको पर्खालमा क्षति भएको, वडा नं ५ लुर्पुङ भूमेस्थान माविको कक्षाकोठामा भल पसी क्षति हुनाका साथै पहिरोले भवन चर्किएको, वडा नं १० महाभारत प्रावि भवनमा पहिरो पसी एउटा कक्षाकोठा पुरेको तथा विद्यालय कम्पाउण्ड बगाएको, वडा नं ३ मसराङगीमा रहेको भूमेस्थन प्राविमा पहिरोले विद्यालय कम्पाउण्ड र कक्षाकोठा पुरेको र वडा नं ९ मा रहेको भूमेस्थान प्रावि सल्लेनीमा पहिरोले विद्यालय भवन आंशिक पुरेको छ ।
प्रहरीका अनुसार बिपी राजमार्ग अन्तर्गतको १ नम्बर पुलमा २ सय ५० मिटर, चौकीडाँडा (कटुञ्जे नजिक) १ सय मिटर, दाउन्नेमा १ सय मिटर, चार सयबेशीमा ५० मिटर सडक अवरुद्ध भएको छ । यस्तै, माम्ती खोलामा १ सय मिटर, डालाबेंसीमा ५ सय मिटर, कालढुङ्गामा ५ सय मिटर र चिउरीबासमा ३ सय मिटर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
क्रसर र ढुङ्गाखानीका कारण विपद् आइलागेको स्थानीय बासिन्दा बताउँछन्। भीरपाखा, खोला छेउछाउका पहाड क्रसर र ढुङ्गाखानीले तहसनहस गर्दा रोशी खोलामा ठूलो बाढी आएको स्थानीयले बताए ।
रोशी खोला आसपास २२ ओटा क्रसर उद्योग र ढुङ्गाखानी रहेका छन् । रुख र गेग्रानले खोलाको बाटो छेकिँदा र खनिएका पहाडबाट ठाउँ ठाउँमा पहिरो जाँदा रोशीको रूप फेरिएको छ । अहिले त रोशी खोलाले आफ्नो बाटो नै फेरेको छ। बस्तीको बिचबाट रोशी खोला बगिरहेको छ। जसले गर्दा कैयौँको उठिबास लागेको छ। यसरी उठिबास लाग्नेको लागत सङ्कलन गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनु भयो ।






















