गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत वञ्चित भएका छन् ।
सो स्वास्थ्य चौकीमा डेढ महिनादेखि नै सिटामोल र जीवनजल जस्ता सामान्य औषधिसमेत नहुँदा स्थानीयबासी उपचार सेवाबाट वञ्चित हुनुपरेको स्थानीयबासी खुमलाल कँडेलले गुनासो गरे ।
कँडेलका अनुसार स्वास्थ्य चौकीमा दैनिक रूपमा २०/२५ जना बिरामी आउने गरेपनि उपचार बिना फर्कने गरेका छन् ।
सिटामोलसमेत नभएको स्वास्थ्य चौकीमा यतिखेर मौसम परिवर्तनसँगै लाग्ने रूघाखोकी तथा बालबालिकामा लाग्ने निमोनिया जस्ता रोगका बिरामी आउने गरेपनि स्वास्थ्य चौकीमा औषधि नहुँदा त्यहाँ आउने गरेका बिरामी गुर्भाकोट नपा-४ स्थित स्वास्थ्य चौकी साहारे र निजी प्राथमिक उपचार केन्द्रमा धाउन बाध्य हुनुपरेको स्थानीयबासी कँडेलले बताए ।
स्वास्थ्य चौकी मालारानीका इञ्चार्ज युद्धबहादुर थापाले डेढ महिनादेखि नै स्वास्थ्य चौकीमा सामान्य उपचार सेवाका औषधि सिटामोल र जीवनजलसमेत नभएको विषयमा जिल्ला जनस्वास्थ्य कार्यालय र गुर्भाकोट नपाको कार्यालयलाई जानकारी दिएपनि औषधि उपलब्ध गराउने तर्फदुवै निकायबाट सुनुवाइ नभएको बताए । इञ्चार्ज थापाका अनुसार जनस्वास्थ्यले गुर्भाकोट नपाबाट र गुर्भाकोट नपाले जनस्वास्थ्यले के कति औषधि नपाबाट उपलब्ध गराउने हो भन्ने बारेमा अख्तियारी नदिएको कारण यहाँ औषधि उपलब्ध हुन नसकेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकृत बसन्त श्रेष्ठले गुर्भाकोट नपाले नै सो स्वास्थ्य चौकीमा औषधि उपलब्ध गराउने हुँदा स्थानीय तहमा हाल देखापरेको प्रक्रियागत समस्याले जिल्लाको सबै स्वास्थ्य चौकीमा औषधि सहजरूपमा उपलब्ध गराउन नसकिएको बताए ।
जिल्लाको अन्य स्वास्थ्य चौकीमा यस्तो समस्या भएको भन्ने सम्बन्धमा जानकारी नआएको तर मालारानी स्वास्थ्य चौकीका इञ्चार्ज आफैँ आएर सिटामोल र जीवनजलसमेत नभएको भन्ने जानकारी दिएपछि त्यहाँ तत्काल औषधि पठाउन गुर्भाकोट नपासँग समन्वय गरिरहेको श्रेष्ठले बताए ।