जिल्ला अस्पताल, बाजुरामा औषधी अभाव भएपछि सेवाग्राहीलाई समस्या भएको छ । नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउदै आएको औषधी अभाव भएपछि सेवाग्राहीहरु मर्कामा परेको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृप गिरीले बताउनु भयो ।
जिल्ला अस्पतालमा पाइने निःशुल्क औषधी अभाव भएपछि बिरामीले निजी मेडिकलबाट महँगाे मूल्यमा औषधी किनेर खानु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालबाट निःशुल्क पाइने औषधी मध्ये सिटामोल, एसीलक सिडिजेट, टप्लेट मेट्रोनलगायतका २९ बढी प्रकारका औषधी अभाव भएको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृप गिरीको भनाइ छ ।
नेपाल सरकारले जिल्ला अस्पतालबाट ९८ प्रकारका औषधी निःशुल्क दिदैँ आएको भए पनि अधिकांश औषधीको उपलब्धता नहुँदा आफूहरुले समस्या भोग्नुपरेको बडिमालिका नगरपालिका–७ का स्थानीय लक्ष्मीराज पाध्यायले गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘बच्चा बिरामी भएर जिल्ला अस्पतालमा उपचारका लागि लिएर गए । स्वास्थ्यकर्मीले औषधी लेखेर निःशुल्क औषधी पाउने ठाउँमा पठाउनु भयो । तर, औषधी सकिएको भनेर निजी औषधालयबाट महङ्गोमा औषधी किनेर फर्किएँ ।’
जिल्ला अस्पतालमा अहिले मौसमी ज्वरो, रुघाखोकी, पखाला, भाईरल ज्वरो, दम, प्रेसरलगायतका बिरामी बढी आउने गरेको भए पनि निःशुल्क उपलब्ध गराइने औषधी अस्पतालमा नहुँदा स्थानीय सेवाग्राहीले समस्या भोग्नुपरेको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी गिरीले बताउनु भयो ।
जिल्ला अस्पताल, बाजुरामा नयाँ भवन बनेसँगै हाडजोर्नी, डेण्टल, जनरल सर्जरी लगायतका सेवाहरु सञ्चालन भएपछि बिरामीको चाँप बढ्दै गएको छ । बाजुरा जिल्लाका नौ ओटै स्थानीय तह र कर्णाली प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लालगायत केही स्थानीय तहका बिरामीहरु उपचारको लागि जिल्ला अस्पताल, बाजुरामा उपचारको लागि आउने गरेको भए पनि औषधी नपाउँदा सास्ती खेप्नुपरेको छ ।
प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा औषधी खरिदको लागि १० लाख रुपियाँ बजेट उपलब्ध गराएको भए पनि यस आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले बजेटनै नदिएकोले औषधी खरिद गर्न नसक्दा औषधीको चरम अभाव भएको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी गिरीको भनाइ छ ।
सदरमुकाम मार्तडीमै रहेको जिल्ला अस्पतालमा अधिकांश औषधी अभाव भएपछि बिरामीले जिल्ला अस्पतालमा चेकजाँच गराएर निजी स्वास्थ्य संस्थाबाट औषधी खरिद गर्नु पर्ने बाध्यता रहेको स्थानीय सेवाग्राहीहरुको गुनासो छ ।
जिल्ला अस्पतालले नवनिर्मित नयाँ भवनबाट सेवा सुरु गरेपछि अस्पतालमा पहिलेको तुलनामा दोब्बरको सङ्ख्यामा बिरामी आउने गरेका र दैनिक १ सय ५० जनादेखि २ सय बढी बिरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेका छन् ।