INSEC Online

📅 २०८३ जेष्ठ २१

दोरम्बा शैलुङको लेखर्कका पहिरो पीडितलाई बसोबासको समस्या

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरोको कारण विस्थापित भएका स्थानीयलाई बसोबासको समस्या परेको छ ।

सो पहिरोमा परि सात जनाले ज्यान गुमाएका थिए भने तीन जना बेपत्ता छन् । पहिरोको कारण ६३ घर परिवार विस्थापित छन् । जसमा अधिकांश सीमान्तकृत विपन्न पहरी समुदायका रहेका छन् ।

स्थानीयहरू पहिरोको डरले विस्थापित भएर टोकरपुका विभिन्न घरमा शरण लिएर बसिरहेका छन् । पहिरो गएपछि दुई दिनसम्म विस्थापितलाई कण्ठेश्वर मावि टोकरपुरको तीनवटा कक्षा कोठामा राखिएको थियो ।

तीनवटा कोठामा १ सय ४३ जनालाई एकै ठाउँमा राख्दा, खानेपानी शौचालय लगायतको समस्या भएपछि पीडितहरू गाउँका खाली घरहरू खोजेर बस्न थालेका हुन् ।

अहिले आफूहरू नौ जना सुत्केरी तथा बच्चा भएका आमाहरू एउटा घरमा बस्दै आएको एक महिनाकी सुत्केरी कविता पहरीले बताउनुभयो । सानो बच्चा र अर्काको घरमा शरण लिएर बस्नु पर्ने अवस्था निक्कै कष्टकर भएको उहाँले बताउनुभयो ।

शरण लिएर बस्ने सुत्केरी, महिला, बालबालिका र ज्येष्ठ नागरिकको अवस्था निक्कै कष्टकर रहेको छ ।

पुरुषहरू कामको सिलसिलामा काठमाडौँ रहेकाले शरण लिएर बस्ने अधिकांश महिला, बालबालिका र ज्येष्ठ नागरिक छन् । उनीहरूको अवस्था निक्कै कष्टकर रहेको दोरम्बा शैलुङ गाउँपालिका–३ का वडा सदस्य तुलप्रसाद कँडेलले बताउनुभयो ।

गाउँका ठाउँ ठाउँमा पहिरो गएको तथा वर्षा जारी नै रहेकोले स्थानीयको कम्तीमा भदौ महिना भरि गाउँ फर्कने अवस्था नरहेको कँडेलले बताउनुभयो ।

गाउँपालिकाले पीडितहरूलाई तत्काल अस्थायी आवासको लागि ठाउँ खोजिरहेको भए पनि त्यो टुङ्गो नलागिसकेको गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान बताउनुहुन्छ ।

गाउँपालिकाले कहिले ठाउँ खोजेर आवास निर्माण गरिदिने हो र विस्थापित सुरक्षित आवासमा बस्न पाउने हुन् ठेगान छैन ।

Doramba-1 Doramba -2

अन्य

भिडियो