बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल मनोज आचार्यले बताए ।
पीडित २५ वर्षीया मकिना खातुनले उनका पति ३५ वर्षीय हबिब मियाँले भारत लदनियाकी २२ वर्षीया लजिना खातुनसँग चैत १४ गते बहुविवाह गरी घरमा लिएर आएको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा चैत १८ गते उजुरी दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय लहानले आरोपितहरूलाई चैत १८ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालत सिरहाले वैशाख ८ गते उनीहरूलाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।