INSEC Online

📅 २०८३ जेष्ठ २१

दार्मा भूकम्प प्रभावित : चार हजार बढीमा हेपाटाइटिस ए सङ्क्रमण

जिल्लाकाे भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा एक महिना अघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को सङ्क्रमणले प्रकोपको रुप लिएको छ । प्रदूषित पानीका कारण गाउँपालिकाभर नै फैलिएका हेपाटाइटिस ए भाइरसको सङ्क्रमणका कारण हालसम्म ४ हजारभन्दा बढी बिरामी परिसकेका छन् । एक महिना अघि बालबालिकामा मात्र देखिएको हेपाटाइटिस ए को प्रकोपका कारण अधिकांश सङ्क्रमितमा जन्डिसका लक्षणसहितका समस्याहरू देखिएका छन् ।

चिकित्सकका अनुसार हेपाटाइटिस ए भाइरसको सङ्क्रमणका कारण मानिसको कलेजो सुन्निन थाल्दछ जसका कारण सङ्क्रमितमा जन्डिसका साथै ज्वरो आउने, वाकवाकी लाग्ने, झाडापखाला लगायताका समस्या देखिन्छन् । गाउँपालिकामा फैलिएको सङ्क्रमणको कारण दर्जनभन्दा बढीको अवस्था गम्भीर रहेको छ । गम्भीर सङ्क्रमितहरू थप उपचारका लागि जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पताल जान बाध्य भएका छन् ।

दार्मा गाउँपालिकामा प्रदूषित पानी सेवनकै कारण हेपाटाइटिस ए को प्रकोप फैलिएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार दुई साता अघिसम्म ४ सय जनामा मात्रै देखिएको सङ्क्रमण अहिले ४ हजार भन्दा बढीमा फैलिएको छ । सङ्क्रमणले प्रकोपको रुप लिन थालेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सुर्खेतबाट प्राविधिक टोली बोलाएर शिविर सञ्चालन गरी ल्याब परीक्षण गरिएकोमा १९ जना मध्ये आठ जनामा हेपाटाइटिस ए भाइरसको सङ्क्रमण पोजेटिभ देखिएको पनि उहाँले जानकारी दिनुभयो ।

‘हेपाटाइटिस ए को उपचार भनेको औषधि सेवन भन्दा पनि प्रशस्त मात्रामा झोलिलो पदार्थ सेवन गर्नु र तागतिलो खानेकुरा खानु हो, बिरामीले प्रशस्त मात्रामा पानी नपिउँदा र तागतिलो खानेकुरा खान नपाउदा समस्या जटिल बन्दै गएको छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार प्रकोपको रुपमा फैलिएपछि अहिले पालिकाले विद्यालयमा गएर बालबालिकालाई सरसफाइ सम्बन्धी र शुद्ध पानी प्रयोगका लागि सतेचना फैलाउने काम गर्दै आएका छ ।

बिहान १० बजे अघि नै स्वास्थ्यकर्मीको टोली गएर विद्यालयमा हात धुन सिकाउनुका साथै सफा पानी उमालेर मात्रै पिउन सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो । प्रत्येक घरमा तीन/चार जनामा सङ्क्रमण देखिन थालेपछि पुरै पालिकाबासी अहिले त्रसित भएका छन् ।

सुरुमा घरको सानो छोरालाई जन्डिसको लक्षण देखिएको र अहिले घरका लगभग सबैमा सोही समस्या देखिएका कारण उपचार गराउन कठिनाइ भएको दार्मा गाउँपालिका–२ की ३६ वर्षीया लीला खत्रीले बताउनुभयो । जन्डिस सहितका लक्षणका कारण बालबालिकाका हातखुट्टाका नङ, पहेंला भएका, खान नमान्ने गरेका र दुब्लाउँदै गएका उहाँले जानकारी दिनुभयो । सरुवा रोग भएकाले आफूहरुलाई पनि सर्ने खतरा बढेकोमा चिन्ता लागेको पनि उहाँको भनाइ छ ।

दार्मा गाउँपालिकामा गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाइ गएको भूकम्पपछि अस्थायी रुपमा टहरा तथा त्रिपालमा बस्दै आएका पालिकाका बालबालिका, जेष्ठ नागरिक, सुत्केरी महिलालाई बेलाबेलामा विभिन्न खाले सरुवा रोगले सताइरहेकोमा पछिल्लो समयमा प्रकोपकै रुपमा हेपाटाइटिस ए फैलिएको हो ।

सामुदायिक स्वास्थ्य इकाई केन्द्र ढाँकाडाममा दैनिक १५/२० जना उपचारका लागि बिरामी आउने गरेकामा अधिकांशमा जन्डिसकै लक्षण देखिएको स्वास्थ्यकर्मी यज्ञबहादुर खड्काले बताउनुभयो । स्वास्थ्य जाँचका लागि आएका सबैलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान सल्लाह दिँदै आएको उहाँले जानकारी दिनुभयो । खानपानमा ध्यान नदिएमा बिरामीको ज्यान जाने सक्ने खतरा रहेको पनि उहाँको भनाइ छ ।

सङ्क्रमणले प्रकोपको रुप लिएपछि त्यसबाट बचाउनका लागि विद्यालयस्तर तथा गाउँगाउँमा गएर सचेतना फैलाउने काम भइरहेको दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । जन्डिसका लक्षण देखिएका बालबालिकामा ज्वरो आउने, पखाला लाग्ने, बान्ता हुने, खान मन नलाग्ने, दुब्लाउँदै जाने लक्षण देखिएकाले खानेकुरामा विशेष ध्यान दिन पालिकाबासीलाई आग्रह गरेको उहाँले बताउनुभयो ।

अन्य

भिडियो