सरकारले बर्थिङ् सेन्टर सञ्चालन भएका स्वास्थ्य चौकीहरूमा ७२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भनिएपनि जिल्लाको दुर्गम स्थानमा रहेको भगवानपुर स्वास्थ्यचौकीमा अति आवश्यक औषधिहरूको अभाव रहेको स्वास्थ्यचौकीका सि.अहेब नन्दकिशोर चौधरीले जानकारी दिएका छन ।
सञ्चारकर्मी तथा मानव अधिकारकर्मीको टोलीले असोज २४ गते स्थलगत अनुगमनको क्रममा उक्त स्वास्थ्यचौकीमा १५ दिनदेखि गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु पर्ने आइरन चक्की सकिएको स्वास्थ्यकर्मीले जानकारी दिए ।
यस्तै सिटामोल, मेट्रो, रूघाखोकी लागेमा खुवाउने औषधि तथा परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, कण्डमलगायतका अस्थायी साधनहरू सकिएको बताइएको छ । बर्थिङ् सेण्टर सञ्चालनमा रहेकोले सुत्केरी आमालाई ४५ दिनसम्म खुवाउनु पर्ने आइरन चक्की नभएपछि उनीहरूलाई के दिने भन्ने समस्या परेको अहेब जमुना केसीले गुनासो गरिन् । बर्थिङ् सेण्टर चलाउन एक जना अनमी र एक जना अहेब मात्र रहेकोले २४ सै घण्टा सेवा दिन समस्या रहेको समेत गुनासो गरेका छन् ।
सरकारले स्वास्थ्य चौकीमा ३५ र बर्थिङ् सेण्टर सञ्चालन रहेका स्वास्थ्य संस्थाहरूमा ७२ प्रकारका औषधि निःशुल्क गरेकोमा उक्त स्वास्थ्य संस्थामा अधिकांश औषधि सकिएको जानकारी दिएका थिए ।
सरकारले आ.व. ०७४/०७५को बजेट स्थानीय तहमा पठाइसकेकोले न जिल्ला स्वास्थ्य कार्यालयले औषधि दिन्छ न स्थानीय निकायले औषधि खरिद गरेको जनाइएको छ । जसका कारण स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव देखिएको हो । स्थानीय तहले सो विषयमा गम्भीर हुनु जरूरी देखिएको छ ।