अविरल वर्षाका कारण पहिरोमा पुरिएर लमजुङको बेसीशहर नगरपालिका– ११ चिति स्याउतका एक जना युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते हुनुभएको छ ।
असार ११ गते राती घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका दुइजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते दुवैलाई उपचारका लागि बेसीशहरस्थित लमजुङ अस्पतालमा ल्याइएकोमा १७ वर्षीय बिकल सुनारको मृत्यु भएको हो । घाइते १८ वर्षीय मिलन सुनारको भने, अस्पतालमै उपचार भैरहेको छ ।
त्यसैगरि लमजुङको क्व्होलासोथार गाउँपालिका– ३ बगुममा मंगलबार राती पहिरोले घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
राती १२–१ बजेतिर गएको पहिरोले तीन ओटा घर बगाएको र दुई घरका चार जना बेपत्ता भएको वडा सदस्य बिनबहादुर घलेले बताउनुभयो । पहिरोमा परेर अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, अर्को घरमा बस्ने उहाँका बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका दुई छोरीहरु ७ वर्षीया इच्छा र ५ वर्षीया नम्रता बेपत्ता भएको उहाँले बताउनुभयो ।
पहिरोले क्व्होलासोथार गाउँपालिकाका योजना प्रमुख चित्र घलेको घर बगाएको र घरमा रहेका अन्दाजी ३६ वर्षीय भाई भीमबहादुर घले घाइते भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार भीमबहादुर खोपीतिर सुतेका कारण बाँच्न सफल हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएको बताउनुभयो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक घलेले बताउनुभयो । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताउनुभयो ।