२४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिद्धिचरण नगरपालिका-८ का ३४ वर्षीय मेखबहादुर परियारलाई चार वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८१ जेठ १७ गतेको इजलासले कसुर गरेको ठहर गदै कैद सजायको फैसला गरेको हो ।
अदालतको सोही आदेशले कसुरदारबाट १ लाख ५० हजार रुपियाँ जरिबाना र १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी प्रमोद रिजालले बताउनु भयो ।
पीडित महिलालाई आरोपितले ०८० माघ ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले ०८० माघ १० गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८० माघ २९ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८० माघ १० गते गरिएको थियो ।