कपिलवस्तुमा औलो रोग निवारणमा चुनौती बन्दै गएको छ । कपिलवस्तुमा चालु आर्थिक वर्षमा ३३ जना औलो रोगीका बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ३३ जना औलो रोगी भेटिएका हुन् । निवारणमा चुनौती मानिएको औलो रोग (मलेरिया) कपिलवस्तुमा स्थानीय भन्दा बाहिरी देशबाट आएकामा बढी भएको तथ्याङ्क पाइएको छ ।
जिल्ला अस्पतालका औलो रोग फोकल पर्सन उदयचन्द्र चौरासियाले एनोफोलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग भएको बताउनु भयो । उहाँका अनुसार औलो रोग लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा परजीवि पनि चुस्छ र लामखुट्टे सङ्क्रमित हुन्छ । त्यही सङ्क्रमित लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा औलो (मलेरिया) सर्ने चौरासियाले भन्नुभयो ।
कपिलवस्तुमा बाहिरी देशबाट आएका २४ जनामा सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीले बताउनु भयो । कपिलवस्तु नगरपालिकामा बाहिरी देशबाट आएकामा सङ्क्रमितको सङ्ख्या धेरै रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो । ७० प्रतिशतभन्दा बढी छिमेकी मुलुकबाट आएका नेपालीहरूमा सङ्क्रमणदर बढी देखिएको स्वास्थ्य फोकल पर्सन चौरासियाको भनाइ छ ।
आर्थिक वर्ष ०७९/८० मा कडा खालका दुई जना र ११ जना नरम खालका सङ्क्रमित गरी १३ जना मलेरिया रोगी फेला परेका थिए । यस आर्थिक वर्षमा मलेरिया सङ्क्रमितको सङ्ख्या बढेर झण्डै तेब्बर हुन गएको छ । कपिलवस्तुमा यस आर्थिक वर्षमा ५ हजार ७ सय ६७ जना बिरामीहरूको औलो रोगसम्बन्धी रगत परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
औलो रोग परीक्षण तथा उपचारका लागि कपिलवस्तुका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरूमा निःशुल्क व्यवस्था रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयले विश्व औलो रोग दिवसका अवसरमा ‘औलो विरुद्धको लडाइँलाई तीव्रता दिऔँ, समतामुलक पहुँचको सिर्जना गरौँ’ भन्ने अभियान सञ्चालन गरेको स्वास्थ्य कार्याललयका प्रमुख चौधरीले बताउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालयले, सरकारको सन् २०२५ भित्र औलो रोग उन्मुलन अभियानलाई सफल बनाउन, औलो जोखिम क्षेत्र पहिचान गरी रगत परीक्षणका कार्यक्रमहरू सञ्चालन गरेको, सीमा नाका तथा समुदायमा सचेतना अभियान सञ्चालन गरेको, जोखिम क्षेत्रहरूमा झुल वितरण तथा कीटनाशक औषधीहरूको प्रयोगलाई बढाएको स्वास्थ्य कार्यालयका प्रमुख चौधरीले इन्सेकलाई जानकारी दिनुभयो ।