खडक नगरपालिका-८ खोजपुर खेस्राहाकी ५५ वर्षीया मैरुन कुजरनीलाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा फरार रहेका सोही ठाउँका ४७ वर्षीय बिजली मियाँ कुजरा ०८१ जेठ १६ गते हाजिर भएका छन् ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले जेठ १६ गते हाजिर भएका फरार आरोपित बिजली १८ हजार रुपियाँ धरौटी राखी तारेखमा रिहा भएको अदालतले जनाएको छ ।
पीडितलाई २०८० जेठ २४ गते बिहान निजको घरमा खडक नगरपालिका-८ खोजपुर खेस्राहाका ४७ वर्षीय बिजली मियाँ कुजरा, उनका बुबा ६५ वर्षीय हनिफ मियाँ कुजरा र बोदे बर्साइन नगरपालिका-३ की ३० वर्षीया सैयरा भनिने खैरुल खातुनले ‘बोक्सी’ भन्दै गालीगलौज गर्दै लुगा च्यातिदिएको भनेर मैरुन कुजरनीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८० जेठ २९ गते उजुरी दिनुभएको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०८० फागुन २३ गते उजुरी दर्ता भएको थियो । आरोपितहरुविरुद्ध फागुन २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।
आरोपित हनिफ ०८१ वैशाख ९ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०८१ वैशाख २० गते अभियोग पत्र दायर भएको थियो । जिल्ला न्यायाधीश उदविर नेपालीको इजलासले वैशाख २१ गते आरोपित हनिफ २० हजार रुपियाँ धरौटीमा रिहा भएका थिए । हाजिर भएका अर्का आरोपित खैरुल खातुन २५ हजार रुपियाँ धरौटीमा न्यायाधीश उमानाथ गौतमको इजलासले ०८१ जेठ २ गते रिहा भएकी थिइन् ।