INSEC Online

📅 २०८३ श्रावण ५

जङ्गली जडिबुटी खाँदा एक जनाको मृत्यु

तातोपानी गाउँपालिका–१ बाईराँका गाउँका ६५ वर्षीय दलजित सार्कीको जङ्गली जडिबुटी खाँदा मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उहाँको उपचारको क्रममा साउन ३ गते बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी चिरञ्जीवी दाहालका अनुसार सार्कीको जङ्गलमा पाइने सतुवा नामक जडीबुटी खाँदा उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो ।  साउन २ गते जडिबुटी खाएको केही समयपछि उहाँको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि तत्काल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो ।

प्रतिष्ठानमा उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार दलजितले उक्त जडीबुटी किन र के उद्देश्यले सेवन गरेका थिए भन्ने कारण अझै खुल्न सकेको छैन । घटनाबारे आवश्यक अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सतुवा हिमाली क्षेत्र वनजङ्गलमा पाइने बहुमूल्य जडीबुटी भए पनि यसको गलत पहिचान, अनुचित प्रयोग वा विषालु वनस्पतिसँग झुक्किएर सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अपरिचित जडिबुटी प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् ।

मानदत्त रावल

अन्य

भिडियो