पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारतको रुपैडिया जिल्ला चितलहवाका २९ वर्षीय रञ्जीत कुमारलाई जन्मकैदकाे फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको जेठ १ गतेकाे इजलासले उक्त फैसला गरेकाे अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
स्वास्थ्य परीक्षण लगायतका प्रमाणका आधारमा कसुर पुष्टि भएकोले कसुरदारलाई जन्मकैदको अतिरिक्त ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ पीडित पक्षलाई क्षतिपूर्ति, पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गर्नुपर्ने सजाय भएको सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।
सुँगुरको रौं सङ्कलनको कामले दैलेखको एक गाउँमा पुगेको कसुरदारले बालिकालाई ०७९ पुस २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले दिएको उजुरीका आधारमा कसुरदारलाई प्रहरीले पुस ३० गते गिरफ्तार गरेकाे थियाे । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते जिल्ला अस्पतालमा गरिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले माघ २४ गते जिल्ला अदालतमा बलात्कारसम्बन्धी अभियोग दर्ता गराएको र थुनछेक बहसपछि माघ २६ गते जिल्ला न्यायाधीश बलराम लम्सालको आदेश अनुसार पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो ।
