INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा २ सय ५१ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधिमा (सन् २०२४ जनवरीदेखि सन् २०२४ मार्च) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ५१ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सन् २०२४ जनवरीदेखि मर्चसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना समावेश गरी प्रकाशन गरेको मानव अधिकार स्थिति सूचकमा सो तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यस अवधिमा राज्य पक्षबाट एक जना महिलासहित तीन जना र अन्यपक्षबाट २ सय ३८ महिला सहित २ सय ४३ जना पीडित भएका स्थिति सूचकमा उल्लेख छ ।

यस अवधिमा अन्यपक्षबाट २ सय १९ जना महिलाको अधिकार हनन् भएको छ । जसमध्ये घरेलु हिंसाबाट १ सय ८९ जना, बलात्कारबाट २२ जना, बलात्कार प्रयासबाट एक जना, बेचबिखन तथा ओसारपसारबाट एक जना र वहुविवाहबाट ६ जना गरी २ सय १९ जना महिला पीडित भएका छन् ।

यसैगरी अन्यपक्षबाट १८ जना बालिका पीडित भएका छन् । जसमध्ये बलात्कारबाट ११ जना, यौन दुर्व्यवहारबाट ६ जना र बाल विवाहबाट एक जना गरी १८ जना बालिका पीडित भएका छन् ।

यस तीन महिनाको मानव अधिकार उल्लङ्घनको विश्लेषण गर्दा राज्य पक्षबाट मानव अधिकारको उल्लङ्घन न्यून भए पनि अन्य पक्षबाट मानव अधिकार ज्यादतीका घटनामा बृद्धि भएको इन्सेक सुदूरपश्चिम प्रदेश प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

नागरिक तथा राजनीतिक अधिकारका क्षेत्रमा सुधार भए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा सुधार हुन नसकेकोले राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुको पूर्ण रुपमा कार्यान्वयन गरी नागरिकका अधिकारहरुको सुनिश्चत गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो