गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीस्थित आधारभूत अस्पतालमा तोडफोड भएको छ ।
गौरीगञ्ज गाउँपालिका-६ तीनटोलियाका ३८ वर्षीय रामदेव महतोका १० वर्षीय छोरा कृष्णदेवको उपचारका क्रममा ०८१ वैशाख २० गते मृत्यु भएपछि बिरामीका आफन्त र स्थानीयले चिकित्सकको लापरवाही भन्दै अस्पताल तोडफोड गरेको गौरीगञ्जका पत्रकार मदन राजवंशीले बताउनु भयो ।
झाडापखाला र वान्ताले अस्वस्थ भएका बालकलाई वैशाख २० गते बिहान ६ बजे अस्पताल भर्ना गरिएको र बिहान ११ बजे बालकको मृत्यु भएपछि स्थानीयले लापरवाही भन्दै तोडफोड गरेको पत्रकार राजवंशीले बताउनु भयो ।
गौरीगञ्ज आधारभूत अस्पताल विकास समितिका अध्यक्ष वद्रीनारायण यादवले घटना दुःखद भएकाले पीडित परिवारबाट निवेदन लिने र निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्ने बताउनु भयो ।
आधारभूत अस्पतालमा प्राथमिक उपचारपछि बालककालाई थप उपचारका लागि दमक रिफर गरिएको र अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु नभएको गौरीगञ्ज आधारभूत अस्पतालका प्रमुख अनुप शर्माले बताउनु भयो ।
तोडफोडबाट २५ लाख रुपियाँ बढीको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ ।


