मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनभित्र एक जना महिलाको शव फेला परेको छ ।
सर्लाही जिल्ला लालबन्दी नगरपालिका–२ घर भइ मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षिका २९ वर्षीया कविताकुमारी ढुङ्गानाको शव शंकास्पद अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कविताकुमारीसँगै बस्दै आएका पति ३० वर्षीय रतन गुप्ता फरार भएपछि प्रहरीले हत्या भएको हुन सक्ने आंशका गरेको छ ।
पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१६ स्थायी घर भइ मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलमा ०८३ वैशाखदेखि पतिपत्नी नै कार्यरत रहेका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवालले घटना शंकास्पद भएको बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले ०८३ साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र साउन ११ गते विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कविहीन भएको बताउनु भयो । विद्यालयका आवासीय भवनमा बस्दै आएका पतिपत्नीको कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन नसकेको प्रधानाध्यापक लुइँटेलले बताउनु भयो ।
प्रधानाध्यापक लुइँटेलले दिनभर सम्पर्क नभएपछि साउन ११ गते पौने ५ बजे रतन गुप्ताले आफ्नो ह्वाट्सएपमा सन्देश पठाएको बताउनु भयो ।
सन्देशमा पत्नी कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरिएको थियो ।
प्रहरीले स्थानीयवासीसँग गरेको सोधपुछका क्रममा गुप्तालाई साउन १० गते साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको बताएका थिए ।
विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेपनि मृत्युको कारण खुल्न सकेको छैन ।
शव परीक्षणसहित सबै पक्षबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । मृतकका पति फरार भएकाले हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ ।