१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ठाँटीकाँध गाउँपालिका–२ बिसल्लाका २५ वर्षीय भरत बिष्टलाई जिल्ला अदालतले ०८१ वैशाख १८ गते ११ वर्ष कैद, ५० हजार रुपिंयाँ पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने र १ हजार ८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलाराम लम्सालको इजलासबाट उक्त सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । आठबीस नगरपालिका–४ मालाचौरमा ०७८ माघ १३ गते बलात्कार गरेको उल्लेख गरी पीडित पक्षले घटनाको १६ दिनपछि माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते जिल्ला अस्पतालमा भएकाे थियाे ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले फागुन ८ गते जिल्ला अदालतमा अभियोग दर्ता गरायो । अभियोग सम्बन्धमा फागुन ९ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पूर्पक्षको लागि कारागार पठाइएको थियो ।