INSEC Online

📅 २०८३ जेष्ठ २१

आगलागी पीडितले राहत नपाएको गुनासो

बाँफिकोट गाउँपालिका – २ र ३ वडाका आगलागी पीडितहरुले अझै राहत नपाएको गुनासो गरेका छन् ।  वन क्षेत्रमा  वैशाख २ गते लागेको आगो बस्तीमा पस्दा वडा नम्बर २ मा  १० र ३ मा आठ ओटा  गरी १८ ओटा घर गोठ जलेका थिए । घर तथा गोठहरुमा आगोले जलेपछि स्थानीयहरुलाई समस्या भएको गाउँपालिका अध्यक्ष जनककुमार बाठाले जानकारी दिनु भयो ।

आगलागी भएको एक साता सम्मपनि राहत नपाएपछि सास्ती भएको छ । घरमा आगो लागेको धेरै समय भैसक्यो, हामीले अझै पनि राहात पाउन सकेका छैनौ । त्रिपाल पाइयो भने पनि अस्थायी टेन्ट बनाएर बस्न हुन्थ्यो , तर अहिले सम्म पनि राहत नआएको नन्दराम पौडेलले भन्नुभयो । आगोले बस्ने घर र गोठहरु जलेका छन् ।

२ नम्बर वडाको नेट्टेमा दुई ओटा, मेगे र कलजुतेमा आठ ओटा घरमा आगलागी भएको थियो । स्थानीय महाबिर पौडेल, नन्दराम पौडेल, मानसिङ पौडेल, सरण पौडेल, कविराम पौडेल, बल बहादुर पौडेल, कृष्ण पौडेल र कमला पौडेलको घरमा आगलागी भएको थियो।

केहि घरपरिवारलाई वडाले त्रिपाल उपलब्ध गराएको भए पनि अन्य आगालागी पीडितले भने राहत पाउन नसेकेको वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो ‘जलेका घरको मुचुल्का तयार गरेको भए पनि राहत पीडित सम्म पुग्न नसकेको हो । राहत दिन ढिला भइसकेको उहाँले बताउनुभयो । राहतको लागि सम्बन्धित निकाय सँगहरु पहल भइरहेको छ । ’

त्यसैगरी वडा नम्बर ३ को दारकाट्टे र चौरपोखरीमा आठ ओटा घर जलेका थिए । स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा उक्त क्षति भएको हो । घरमा आगो लागेपछि गहना निकाल्न जाँदा ७० वर्षीया ज्येष्ठ नागरिक बुदी कामीको मृत्यु भएको वडाध्यक्ष तिलबिर केसीले बताउनुभयो ।

जिल्ला विपत व्यवस्थापन समितिले भने क्षतिको विवरण सङ्कलनको काम गरिरहेका जनाएको छ । आगलागीबाट घरहरु भन्दा पनि अस्थायी रुपमा बसोबास गरेका धेरै घरहरु जलेका कारण पनि कुन पीडितलाई कस्ता खालको राहत दिने भन्ने विषयमा सरोकारवालसँग छलफल गरेर राहतको काम गर्ने जिल्ला विपत व्यवस्थापन समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरीप्रशाद पन्तले जानकारी दिनुभयो ।

नेपाल रेडक्रसमा राहातको लागि सबै पीडितहरुबाट निवेदन आउन थालेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापति रमा गौतमले जानकारी दिनुभयो । ‘ हामिले निवेदन उपर छानविन गर्छौ, सधै बस्ने घर जलेर विस्थापित भएकाहरुलाई हामीले पनि केहि गैर खाद्य सामागी्र सहयोग गर्ने छौ, घर नजलेको गोठ मात्र जलेकोहरुलाई भने स्थानीय सरकार र सरोकारवालहरुसँगको छलफलपछि मात्र राहत वितरण हुने छ ।’, सभापति गौतमले भन्नुभयो ।

Photo20240425Rukumpaschim

अन्य

भिडियो