INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य चौकीमा पर्याप्त स्रोतसाधनको अभावले सुत्केरी आमाको मृत्यु

सर्केगाड गाउँपालिका–७ रोडिकोट स्थित रोडिकोट स्वास्थ्यचौकीमा पर्याप्त स्रोतसाधन अभावले वैशाख ९ गते राति सोही गाउँपालिका–७ रोडिकोट गाउँकी २८ वर्षीया रीता देवकोटाको मृत्यु भएको छ ।

स्वास्थ्यचौकीमा प्रसुति गराउन अस्पतालमा ल्याएको तर पर्याप्त स्रोतसाधनको अभावले उपचार क्रममै मृत्यु भएको मृतकका पति दिपक हमालले आरोप लगाउनु भयो ।

बच्चा जन्मेको साढे एक घण्टा पछि मृत्युभएको थियो । मृतकको वैशाख ७ गतेदेखि पानी बग्ने समस्या देखिएपनि आफन्तले वैशाख ९ गते विहान ११ बजे मात्रै स्वास्थ्यचौकी पुर्याउँदा समस्या उत्पन्न भएको स्वास्थ्य चौकीका प्रमुख टिका बोहराले बताउनुभयो ।

प्रमुख बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी व्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मीको प्रयासमा रातीको साढे दश बजे बच्चा जन्माउन सफल भएपनि त्यसको केही समयपछि सुत्केरी आमाको मृत्युभएको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, बच्चा जन्माउनु अगाडी रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिएन । तर त्यसको केही समय पछि मात्रै सुत्केरीको मृत्यु भएको हो ।

स्वास्थ्य संस्थामा पनि भने जस्तो स्रोतसाधन नभएको र रातीको समय भएको समयमा उद्धार नहुँदा थप समस्या भएको प्रमुख बोहरोको भनाइ छ । गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्न फोन गर्दा फोन नउठेको उहाँले जानकारी दिनुभयो ।

देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिनुभएको थियो । दुर्गम हुम्ला जिल्लाका अधिकांश महिलाले कहिले उद्धार त कहिले उपकरणका साथै विज्ञ स्वास्थ्यकर्मीबाट सेवा नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ ।

अन्य

भिडियो