गुर्भाकोट नपा-४ स्थित मिलनचोक, आँपखोली र बाघखोर गाँउका घरघरमा पसेर भदौ २१ र २२ गते ‘बहुला’ स्यालले स्थानीय बासिन्दा र चौपायालाई टोक्दा बिरामी परेकाहरू औषधिको अभावमा उपचारबाट वञ्चित भएका छन् ।
गुर्भाकोट नपा-४ का वडाध्यक्ष प्रशन्न शाहले दिएको जानकारी अनुसार यसरी घरघरमै पसेर बहुला स्यालको टोकाईबाट १७ जना स्थानीय बासिन्दा र १० ओटा भन्दा बढी चौपाया बिरामी भएपनि औषधिको अभावमा उनीहरूको उपचार घरेलु विधिबाट मात्रै गर्नुपरेको छ । यसअघि पनि गुर्भाकोट नपा-९ बाटेचौरलगायतका स्थानमा बहुला स्यालको टोकाईबाट स्थानीयबासी घाइते भएका थिए ।
बहुला स्यालले टोकेको इम्युनोग्लोमिन भ्याक्सिनको मुल्य ८ हजार रुपियाँ पर्ने र सो भ्याक्सिन लगाउन न्यून आय भएकालाई समस्या भएको तथा भ्याक्सिन पनि स्टक नभएकोले ती बिरामीहरू उपचार पाउनबाट वञ्चित हुनु परेको गुर्भाकोट नपा-४ स्थित स्वास्थ्य चौकीका इञ्चार्ज किरण वलीले जानकारी दिए ।
सो घटना भएपछि भदौ २२ गते गुर्भाकोट नपाको आकस्मिक बैठक बसी तत्काल काठमाडौँबाट इम्युनोग्लोमिन भ्याक्सिन ल्याउने निर्णय गरिएको गुर्भाकोट नपाका प्रमुख हस्त पुनले बताए ।