नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भएपनि तील,जाङ र हल्जी गाउँका ५४ जना बालबालिकाले खोप लगाउन नपाएका हुन् ।
उक्त गाउँका बालबालिकाले यो राष्ट्रिय खोप मात्रै नभएर बालबालिकाले नियमित रूपमा लगाउने अन्य खोप पनि लगाउन नपाएको नाम्खा–६ लिमिका वडाध्यक्ष पाल्जोर तामाङले बताउनु भएको छ । हिउँदको समयमा हिमपात भएकाले नारा लेख र न्यालु लेखको सडक नबन्द मानिस र सवारी साधान आवतजावत बन्द भएपछि खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।
हिउँले बाटो बन्द हुँदा भ्याक्सिन ढुवानी हुन नसक्दा सबै किसिमका खोप लगाउनबाट लिमीका बालबालिका बञ्चित रहेको अध्यक्ष तामाङको भनाइ छ ।
लिमीमा भ्याक्सिन ढुवानीका लागि हेलिकोप्टरको व्यवस्थाका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको भएपनि समाधान हुन नसकेका स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । भ्याक्सिन ढुवानी गर्न हेलिकोप्टर भाडा २ लाख रुपियाँ लाग्ने भएकाले भ्याक्सिन ढुवानी जुटाउन गाह्रो भए पनि लिमीका बालबालिका खोप लगाउनबाट बञ्चित भएका हुन् ।
आफूसँग त्यति ठुलो बजेट नहुँदा राष्ट्रिय खोप कार्यक्रम समेत लिमीमा सञ्चालन हुन नसकेको प्रमुख सिंहले बताउनुभयो । हिमपातले बाटो अवरुद्ध भएपछि स्वास्थ्यकर्मी भ्याक्सिन लिएर जान नसकेका हुन् । वैशाखपछि बाटो खुलेपछि मात्रै खोप अभियान सञ्चालन हुने उहाँको भनाइ छ ।
कात्तिकदेखि लिमिका बालबालिकाले नियमित खोप समेत लगाउन नपाएका हुन् । गाउँपालिका स्वास्थ्य शाखाले दादुरा–रुवेला विरुद्धको भ्याक्सिन बुझेको भएपनि स्वास्थ्यकर्मी खोप केन्द्रसम्म जान हिउँ जमेको बाटोले अवरोध गरेपछि खोप कार्यक्रम सुरु नभएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले बताउनुभयो ।