परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीलाई ०८० चैत १ गते कुटपिट गरेको आरोपमा प्रहरीले परशुराम नगरपालिकाका उपप्रमुख विमलाकुमारी बोहरा, सोही नगरपालिका-७ का अध्यक्ष कर्णबहादुर धामी र वडा नम्बर १ का अध्यक्ष लालबहादुर धामीलाई चैत १ गते गिरफ्तार गरेको छ ।
परशुराम नगरपालिकाको कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा पतिलाई राहत शिक्षक नियुक्तिका लागि सहयोग नगरेको विषयमा उपप्रमुख बोहराले बिबाद गरेपछि उपप्रमुखलगायत वडा अध्यक्षहरुले कुर्सी प्रहार गरी कुटपिट गरेको पीडित प्रशासकीय अधिकृत जोशीले बताउनु भयो ।
आफूहरुले प्रशासकीय अधिकृत जोशीलाई कुटपिट नगरेको, कार्यपालिका बैठकमा बिबाद हुँदा भागदौड मचिएको र सोही क्रममा प्रमुख प्रशासकीय अधिकृत फर्निचरमा ठोक्किएर टाउकोमा चोट लागेको परशुराम नगरपालिकाका-७ का अध्यक्ष तथा घटनाका आरोपित कर्णबहादुर धामीले बताउनु भयो ।
कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरिएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले आरोपितहरुलाई गिरफ्तार गरी दुई घण्टा प्रहरी हिरासतमा राखी चैत १ गते दिउँसो जिम्मा जमानतमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी दिपक कार्कीले बताउनु भयो ।
कुर्सी प्रहारबाट टाउकोमा गहिरो चोट लागेर घाइते हुनुभएका प्रमुख प्रशासकीय अधिकृत जोशीको उपचार चैत १ गते परशुराम अस्पतालमा गरिएको छ । उपचारका क्रममा टाउकोमा तीन ओटा टाँका लगाइएको पीडित प्रशासकीय अधिकृत जोशीले बताउनु भयो ।