गौरादह नगरपालिका-७ योगीटारकी ८२ वर्षीया ज्येष्ठ नागरिक नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीय नातीसहित चार जनालाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
नरमाया विश्वकर्मा ०८० फागुन २५ गते शिवरात्रीका दिन बेपत्ता भएपछि छोरा रमेश विश्वकर्माले आमाको खोजीका लागि फागुन ३० गते इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उजुरी दिनु भएको थियो ।
बेपत्ता नरमायाको खोजी गर्ने क्रममा घर पछाडिको ग्वाली नजिकको मलखाडीमा पुरिएको अवस्थामा फागुन ३० गते शव भेटिएपछि १७ वर्षीय नाति र उनका तीन जना साथीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मिलन केसीले बताउनु भयो ।
लागू पदार्थ सेवन गर्ने गरेको र शिवरात्रीका लागि लागू औषधका लागि हजुरआमासँग पैसा माग्दा नदिएपछि भएको भनाभनका क्रममा रडले हिर्काएर हत्या गरेको हुन सक्ने एसपी केसीले बताउनु भयो ।
गिरफ्तारीमा परेका चारै जनाले प्रारम्भिक अनुसन्धानका क्रममा पैसा माग्दा नदिएपछि हत्या गरेको बयान दिएको एसपी केसीको भनाइ छ ।
शवको पोष्टमार्टम दमक, अस्पतालमा फागुन ३० गते गरिएको छ ।