जिल्ला अस्पतालमा चार महिनादेखि बिग्रेको मेसिन नबनाउँदा एक्सरे गर्नुपर्ने बिरामी महङ्गो हवाई भाडा तिरेर बाहिरी जिल्लामा एक्सरे गर्न जानु परेको बिरामीहरूले गुनासो गरेका छन् ।
सर्केगाड गाउँपालिका-८ की २६ वर्षीया लक्ष्मी रोकाया जोर्नीको दुखाई भएपछि तीन दिन पैदल हिँडेर एक्सरे गर्न सदरमुकाम सिमकोटमा पुगेपनि जिल्ला अस्पतालको एक्सरे सेवा उपयोग गर्न नपाएको गुनासो गरिन् । उनी एक्सरेका लागि नेपालगञ्ज गएकी छन् । जिल्लामा सडक सुविधा नभएको हुँदा उनी नेपालगञ्ज जाँदा आउँदा हवाईजहाजको भाडा र होटल गरी करिब ५० हजार रुपियाँ खर्च हुने उनले गुनासो गरिन् ।
त्यसैगरी जिल्ला अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीले प्रभावकारी रूपमा सेवा पाउन सकेका छैनन् । जिल्ला अस्पतालमा चार जना चिकित्सकको दरबन्दी रहेपनि एक जना मात्र कार्यरत रहेका छन् । यतिखेर दैनिक १ सय जना बिरामी जाँच गर्नको लागि आउने गरेको जिल्ला अस्पतालका डा. नविन रोकायाले बताए ।
उक्त जनस्वास्थ्य कार्यालयमा रगत, पिसाव, दिसालगायतका परीक्षण गर्नको लागि ल्याव चालु हालतमा रहेको डा. नविन रोकायाले बताए ।
एक्सरे गर्ने कर्मचारी विगत ४ महिनादेखि विदामा बसी भदौ १३ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको भए पनि बिरामीलगायत डा. नविन रोकायाले पटकपटक उपचार गर्न बोलाए पनि नआएको स्थानीयबासी पेमा लामाले गुनासो गरिन् ।
धेरै पटक बोलाई सकेपछि सञ्चारकर्मी र इन्सेक जिल्ला प्रतिनिधिले के भएको हो ? भन्ने बारेमा बुझ्दा एक्सरे मेसिन मात्र भएको तर आवश्यक पर्ने सामान केही नभएकोले एक्सरे हुन नसकेको रेडियोग्राफर दिपक कार्कीले बताए ।
‘सामान्य एक्सरे सेवा जिल्लामा नहुँदा बिरामीले हवाईजहाज चढेर नेपालगञ्ज र सुर्खेतमा झर्नु परेको छ । जसबाट ५० हजारभन्दा बढी खर्च गरेर उपचार गर्नु परेको छ ।’-बिरामी जयदेवी रोकायाले गुनासो गरिन् ।
‘धनीले मात्र बाँच्न पाउने हाम्रो दुःख कहिले अन्त्य हुने हो । गरिवले त औषधि नपाई मर्नुबाहेक कुनै उपाए बाँकी रहेन ।’-उपचारका लागि आएका बिरामी भोरबहादुर शाहीले गुनासो गरे ।
नेपाल सरकारले गाउँपालिका र नगरपालिकामा सिंहदरबारको सुविधा स्थानीय तहलाई सुम्पिएको जनाइए पनि हुम्ला जिल्लामा एक्सरे गर्न नपाउँदा हुम्ली बिरामीले ५० हजार रुपियाँ लगानी गरी सुर्खेत र नेपालगञ्ज जानु परेको छ । हुम्लाकै सुविधा सम्पन्न भनिएको जिल्ला अस्पतालमा यस्तो सुविधा नहुनुले गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी कसरी स्थापना होला ? भन्नेमा सेवाग्राहीको चासो छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा चार महिना अघि एक्सरे भवन सामुदायिक विकास कार्यक्रमको सहयोगमा निर्माण सम्पन्न भई छुट्टै शाखा बनाइएको भएता पनि हाल भवन बाहेक केही सुविधा छैन । उद्घाटनको दिन एकछिन मात्र सञ्चालन गरिएको सो सेवा त्यस पछाडि कुनै बिरामीले सेवा लिन नपाई बन्द रहेको स्थानीयले बताए ।
कार्यालयका कुनै कर्मचारी हाजिर समेत गर्न नआउने हाकिम र लेखापालले उनीहरूको तलब घरमा नै बुझाउन जानु पर्ने बाध्यता रहेको समेत कार्यालय प्रमुख डा.स्मृती महतले बताइन् ।
सो उपकरण र आवश्यक पर्ने सामानको बारेमा व्यवस्थापन समिति सामु बेला बेला भनेको भएता पनि जनस्वास्थ्य कार्यालयका व्यवस्थापन समितिले एक्सरे गर्ने सामान उपलव्ध नगराएको रेडियोग्राफर दिपक कार्कीले बताए ।