बोदे बर्साइन नगरपालिका–९ देउरीका ३५ वर्षीय बिकेश्वर यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा हत्या आरोपित समेत रहेका खडक नगरपालिका–११ सिस्वा बेल्हीका ३४ वर्षीय रामप्रकाश यादव ०८० फागुन १७ गते जिल्ला अदालतमा हाजिर भएका छन् ।
जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले माँग गरेको साढे २ लाख रुपियाँ धरौटी नबुझाएका आरोपित खडक नगरपालिका–११ बनौलीका १७ वर्षीय मो. अजिमुद्दिनको हत्या आरोपमा असोज १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा नै छन् ।
बिकेश्वरलाई २०७८ असोज २ गते राति आरोपितसहित खडक नगरपालिका–११ सिस्वा बेल्हीका ४५ वर्षीय हरी यादव, २५ वर्षीय भागवानदत्त भनिने देबेन्द्र प्रसाद यादव, उनका बुबा ४६ वर्षीय रामनारायण यादवसमेतले खडक नगरपालिका–११ पूर्व–पश्चिम राजमार्गस्थित बनौली गाउँको बोना चोकबाट अपहरण गरी शरीर बन्धक बनाएको भन्दै पीडितका बुवा ७० वर्षीय रामसुन्दर यादवले इलाका प्रहरी कार्यालय कल्याणपुरमा तत्कालै फोनबाट र असोज ५ गते लिखित उजुरी दिनुभएको थियो ।
कल्याणपुर बजारबाट घर फर्किरहेका बेला आरोपितहरूले ना.५७ प ६५६४ नम्बरको रातो अपाचे र नम्बर नखुलेको होण्डा साइन मोटरसाइकल प्रयोग गरी कुटपिट गरी डरधम्की देखाई खडक नगरपालिका–११ स्थित खडक नदी किनारको बाटो हुँदै भारततर्फ लैजान लागेको पीडितले बताउनु भयो । पीडितलाई बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले असोज २ गते पीडितको सकुशल उद्धार गरेको थियो । पीडितको बोदे बसाईनस्थित स्थानीय मेडिकल पसलमा असोज २ गते उपचार भयो । इलाका प्रहरी कार्यालय कल्याणपुरले असोज ५ गते अपहरण तथा शरिर बन्धक उजुरी दर्ता गर्यो ।
अदालतमा ०७८ मङ्सिर १६ गते अभियोग पत्र दायर भएकोमा ०७८ चैत २२ गते अदालतमा हाजिर भएका रामनारायण पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । जिल्ला अदालतको उक्त आदेश बदर गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासबाट ०७९ असार १ गते सवा २ लाख रुपियाँ धरौटी माग्ने आदेश भएपछि रामनारायण असार १९ गते धरौटी रकम बुझाएर रिहा भए । गाउँघरबाट नै ०७९ पुस २३ गते गिरफ्तार भएका देबेन्द्रसँग अदालतले ०७९ पुस २५ गते साढे २ लाख रुपियाँ धरौटी माँग गर्ने आदेश भएकोमा आरोपित देबेन्द्र ०७९ पुस २६ गते धरौटी रकम दाखेल गरी रिहा भए । यस्तै ०८० पुस २५ गते हाजिर भएका हरी यादव अदालतको आदेशमा सोही दिन साढे २ लाख रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भए ।
खडक नगरपालिका–११ बनौलीका अजिमुद्दिनको २०८० भदौ २१ गते भएको हत्या आरोपमा असोज १३ गते गिरफ्तार भएका रामप्रकाश हत्या अराोपमा असोज १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । हत्या गरेको अवस्थामा असोज १३ गते अजिमुद्दिनको शव प्लाष्टिकको बोरामा हाली सिमेन्टको पोलमा बाँधी त्यसमाथी ट्याक्टरको फलामको रिमले थिचेर खडक नगरपालिका–११ बनौलीस्थित रामप्रकाश यादवले सञ्चालन गर्दै आएको कृषि फर्मको पोखरीमा लुकाएको अवस्थामा फेला परेको थियो । पुर्पक्षका लागि थुनामा परेका रामप्रकाशले पुस १६ गते अदालतमा हाजिर हुन निवेदन पठाएकोमा अदालतबाट साढे २ लाख रुपियाँ धरौटी माँग भयो । हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनले धरौटी रकम बुझाएनन् ।