७ वर्षीया बालिका बलात्कार घटनाका कसुरदार सुर्खेतक जिल्लाको वीरेन्द्रनगर नगरपालिका–५ नयाँबस्तीका ४९ वर्षीय राजीव गुप्तालाई दैलेख जिल्ला अदालतले माघ ९ गते २५ वर्ष काराबास (जन्मकैद) फैसला सुनाएको छ ।
जन्मकैदसंगै सात लाख रुपियाँ जरिबाना, एक लाख पचास हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति र २८ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय गरिएको छ ।
पीडित पक्षले दिएको उजुरीमा गत वैशाख २९ गते बलात्कार गरेको भन्ने दाबीलाई प्रहरी अनुसन्धान, स्वास्थ्य परीक्षण प्रतिवेदन र अदालती तहकीकातबाट पुष्टि भएको भन्दै जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
पीडित पक्षको उजुरीका आधारमा गुप्तालाई प्रहरीले गएको जेठ ३ गते सुर्खेतस्थित घरबाट गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३ गते दैलेख अस्पतालमा भयो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जेठ २६ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो । अभियोग सम्वन्धमा जेठ २७ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
दैलेख जिल्ला अदालतको इजलासमा माघ ९ गते पीडित परिवारको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बहस गर्नुभएको थियो ।