सर्केगाड गाउँपालिका-७ मा रहेको कोट माविमा अज्ञात समूहद्वारा तोडफोड हुँदा अभिलेख नरहने गरी कागजात च्यातिएको विद्यालय प्रशासनले जनाएको छ ।
साउन ३० गते कोट माविको झ्याल तोडेर अज्ञात समूहले विद्यार्थी र शिक्षकको हाजिर रजिष्टार, यसै वर्षमाध्यामिक शिक्षा उतीर्ण भएका विद्यार्थीको लव्धाङ्कपत्र, गत वर्षको लेखा परीक्षण प्रतिवेजन, बैङ्कको चेकवबुकलगायतका कागजात च्यातिएर नष्ट भएको प्रधानाध्यापक नेत्रलाल हमालले बताए ।
साउन ३० गते दिउँसो विद्यालयमा व्यवस्थापन समितिको बैठक भएको थियो । सोही दिन रातको समयमा यो घटना भएको प्रअ हमालले बताए । एक्कासी समुदायिक विद्यालयमा यस्तो घटना हुनु आश्चर्यजनक भएको स्थानीयबासीको गुनासो रहेको छ ।
प्रअ हमालका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्नको लागि यसै शैक्षिक सत्रबाट अनुमति लिई भर्ना लागिरहेको बेला अज्ञात समूहले तोडफोड गर्दा असहज वातावरण सिर्जना भएको छ ।
विद्यालयमा रहेका सम्पुर्ण सक्कली कागजात अभिलेख नरहने गरी च्यातिएको छ । कार्यालयमा रहेको स्टिलको दराजसमेत फुटाइएको छ । नजिकै रहेको कार्कीबाडा भन्ने गाउँको गुरामाडुसम्म कागजात च्यात्दै लगिएको र अन्य कुनै प्रमाण भेटाउन नसकिने गरी नष्ट गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
सो घटनाका बारेमा सर्केगार्ड ईलाका प्रहरी चौकीमा भदौ १ गते उजुरी गरेको भए पनि भदौ ४ गतेसम्म पत्ता नलागेको र अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यलयका डिएसपी कमलप्रसाद नेपालले बताए ।
विद्यालयमा तोडफोड भएको घटना प्रहरीसम्म पुग्दासमेत जिल्ला शिक्षा कार्यलयले भने यो विषयमा अनभिज्ञता प्रकट गरेको छ । जिल्ला शिक्षा कार्यलय हुम्लाका जिल्ला शिक्षा अधिकारी मदनकुमार थापाले घटनाबारे आफूलाई कुनै पनि औपचारिक खबर नआएको बताए ।