कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार प्रदेश १-०४-००१ झ ०००३ नम्वरको गाडीमा ढुङ्गा प्रहार गरिएको प्रहरीले जनाएको छ ।
दमक नगरपालिकास्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागूऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा ०८० मङ्सिर २६ गते पहिचान पक्षधरले कालो झण्डा देखाउँदै गाडीमा ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सीसा फुटेको मुख्यमन्त्रीका जनसम्पर्क अधिकृत लिलावल्वभ घिमिरेले बताउनु भयो ।
मुख्यमन्त्रीको गाडीमा ढुङ्गा प्रहार गर्ने कोही कसैलाई गिरफ्तार नगरिएको प्रहरीले जनाएको छ ।
प्रदेशसभाबाट ०७९ फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन् ।
मुख्यमन्त्री कार्कीविरूद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका छन् ।