डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरी तुलसेनीकी १४ वर्षीया बालिका मनसरा खड्का हराएको एक हप्तापछि मृत अवस्थामा फेला परेकी छन् । डुङ्गेश्वर गाउँपालिका-१ को खाडाखोला दमाखेत जङ्गलमा उनको शव साउन २६ गते फेला परेको प्रहरीले जनाएको छ ।
साउन १९ गते दिउँसो चुप्रा बजारको मिलबाट धान कुटेर फर्कने क्रममा हराएकी बालिकाको शव गाईवस्तुलाई सोत्तर काट्न गएका व्यक्तिले चप्पल भेटिएको खवर गरेपछि बाटोदेखि अलि टाढा घाँटीमा सल कसेको, सुरूवाल च्यातिएको र ढुङ्गाको चरेटामा लडाएको अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
मृतकको शव नजिकै छाता राखिएको तर उनले मिलबाट बोकेर ल्याएको सात पाथी चामल फेला नपरेको प्रहरीले जनाएको छ ।
घटना प्रकृतिका आधारमा कुनै व्यक्तिले बलात्कारपछि हत्या गरेको हुन सक्ने र पीडित परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण डाँगीले बताए ।