चौरजहारी नगरपालिका –८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले न्याय पाएपछि ०८० मङ्सिर २० गते जिल्ला सदरमुकाम मुसिकोटमा फैसलाको स्वागत गर्दै र्याली निकालेका छन् ।
बाजागाजा सहित आफन्तजन र अधिकारकर्मीहरुको साथमा रहेका पीडित परिवारले जिल्ला अदालतलाई सम्मान गर्दै ढोग गरेका छन् । यसका साथै पुष्प अर्पण समेत गरेका छन् । मृतकका आफन्तहरुले फूलमाला सहित बजार परिक्रमा समेत गरेका छन् ।
“छोरा मरे , न्याय मरेन, सकियो अब भन्नेवाद, अदालतलाई धन्यवाद, न्याय पाए आमाले , शान्ति पाए आत्माले, भाई बगाउने भेरीहरु , नबगाउनु फेरि अरु” लगायतका नारा सहित सोती घटनाका पीडितहरुले बजार परिक्रमा गरेका थिए ।
मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन वर्षको लडाईपछि न्यायको महशुस जीत भएको बताउनुभयो । फरक जिल्लामा न्यायको लडाई भइरहेको र राजनीतिक कारणले न्याय पाईदैन कि भन्ने लागेको बेला न्यायलयले न्यायको अनुभूति दिलाएको उहाँले बताउनु भयाे । जिल्ला अदालत र न्यायाधीसलाई भगवानको संज्ञा दिनुभयो । उच्च अदालत र सर्वोच्चबाट दोषीहरु उम्कन्छन की भन्ने शंका मनमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी घटनामा मृतक गोबिन्द शाहीको आमा भिमी कुमारी शाहीले अनिदो र भोकै रहेर पनि न्यायको लागि लडेको बताउनुभयो । न्याय नपाउने चिन्तामा रहेका आफूहरुलाई अदालतले न्याय दिएको उहाँको भनाइ छ । उहाँले जिल्ला अदालतले गरेको फैसलालाई राम्रो र हाम्रो पक्षमा भएको जनाउनुभयो । अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ति भएकोले खुसी मिलेको शाहीले बताउनुभयो ।
चौरजहारी नगरपालिका– ८ सोतीमा २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डको मङ्सिर १९ गते फैसला भएपछि र्याली निकालिएको हो ।
उक्त घटनामा संलग्न भएको भन्दै रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्य २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तत्कालीन वडा अध्यक्षसमेत रहेका डम्बर बहादुर मल्ल, डिल्लीबहादुर ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सर्वजित भनिने सविन पुन, तिलक चन्द, ईन्द्रबहादुर भनिने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, बिनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नबिन कुमार घर्तीमगर, बिराज पुन मगर, भिमबहादुर पुन, रमित पुन मगर, बिष्णु मल्ल र तीनजना नाम परिवर्तित छन् । नाम परिवर्तित तीनजना घटनामा मृतक नवराजकी प्रेमिका भनिएकी किशोरीका बुवा, दाइ र भाइ हुन् ।
यस्तै, जन्मकैद फैसला भएका २४ जना मध्य मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र निजको आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिबाना भएको छ ।



