रुकुम पश्चिममा खोज र उद्धार कार्य सम्पन्न भएकाे छ । भूकम्पको कारण भएको क्षति अन्तर्गत मानविय खोजी र उद्धारकाे कार्य सम्पन्न भएकाे प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनु भयाे । जिल्ला प्रशासन कार्यालयले खोज र उद्धारको काम पुरा भएकोले अब राहत र पुनस्थापना काम तर्फ अघि बढेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पन्तले सबै निकायको सक्रिय सहयोगमा भूकम्पको कारण हराएकाहरुको खोजि र उद्धारको काम सफलतापूर्वक गरेर उपचारको समेत उचित प्रवन्ध मिलाएको बताउनुभयो । खोज तथा उद्धारको कार्य पश्चात भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको मोडलमा काम गर्ने उहाँकाे भनाइ छ । आजै बाट राहत वितरणको काम सुरु हुने समेत बताउनुभयो ।
कुनै व्यक्ति, संघसस्था तथा निकायहरुले राहत उपलब्ध गराउन चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिको कार्यालय ,जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन सम्पर्क व्यक्ति सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाल र सहायक विपद् व्यवस्थापनका सम्पर्क व्यक्ति दिलिप बुढाथोकीसँग सम्पर्क गर्नहुन अनुरोध गरिएको छ ।
विपद् व्यवस्थापन राहत सामाग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रवन्ध मिलाइएको समेत पन्तले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पन्तले भूकम्प गएको राती देखि नै समन्वयका विधिन्न काम सुरु गरेर १८ गते बिहानैबाट भूकम्पबाट प्रभावित क्षेत्रमा जिल्लास्थित सुरक्षा निकायहरु, चिकित्सक सहितको स्वास्थ्यकर्मीहरु, जनप्रतिनिधिहरु, राजनीतिक दलहरु र स्थानीयहरुको सक्रिय सहभागितामा मानवीय खोज तथा उद्धार कार्य सम्पन्न भएको बताउनुभयो ।
हालसम्मको भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३ सय ९ जना घाइते भएका छन्। घाइतेहरु मध्य २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगंज र काठमाडौं पठाइएको छ भने १ सय ७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको तथ्याङ्क छ ।

