कर्मचारी अभावले इलाका प्रशासन कार्यालय नराकोटमा तीन सातादेखि नागरिकता वितरण रोकिएपछि भदौ २६ गते इन्सेक अनलाइनमा एक सातादेखि कार्यालयमा कर्मचारीविहीन, सेवाग्राहीले पाएनन् नागरिकता शीर्षकको समाचार प्रकाशन भएको थियो । लामो समयदेखि नागरिकता वितरण कार्य रोकिएपछि मानव अधिकार रक्षक सञ्जाल, इन्सेक र पत्रकार महासंघ, जुम्ला लगायतले तत्काल कर्मचारी खटाउन असोज ८ गते ध्यानाकर्षण गरेका थिए ।
सरकारले स्थापना गरेको इलाका प्रशासन कार्यालयमा अधिकृत नभएको भन्दै नागरिकता वितरण रोकिएपछि जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत गृहमन्त्रालयको ध्यानाकर्षण गरेको थियो ।
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव र ध्यानाकर्षण मार्फत ताकेता गरेपछि इलाका प्रशासनमा शाखा अधिकृत खटाएको छ । सिँजा गाउँपालिका नराकोटस्थित इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत रेश्मा बुढाक्षेत्रीलाई खटाएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो ।
‘इलाका प्रशासन कार्यालय सिँजामा तत्काल नागरिकता लगायत अत्यावश्यक सेवा प्रवाह सञ्चालन गर्न कात्तिक १५ गतेदेखि गृह मन्त्रालय, सिंहदरबार काठमाडौंमा कार्यरत शाखा अधिकृत बुढाक्षेत्री हाजिर हुनु भएकोे छ, । अब सिँजा क्षेत्रमा सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ,’ उहाँले भन्नुभयो ।
यस अघि सुमन धिताल अधिकृतस्तरको कर्मचारी पहिलोपटक आएर सेवा प्रवाह गरेका थिए । उहाँ ०७३ कात्तिकमा सरुवा भएर गएपछि कार्यालय शाखा अधिकृतविहीन अवस्थामा रहेको थियो ।
नराकोटस्थित इलाका प्रशासनमा ०७३ देखि ०८० असोजसम्म सरकारले अधिकृतस्तरको कर्मचारी पठाउन सकेको थिएन । अधिकृतस्तरको कर्मचारी नहुँदा पाँच वर्ष अनुभव भएका नायबसुब्बालाई खटाउने व्यवस्था छ । करिब आठ वर्षपछि पुनः इलाका प्रशासनले शाखा अधिकृत प्राप्त गरेको हो ।
शाखा अधिकृतस्तरको दरबन्दी भएको इलाका प्रशासन कार्यालय नराकोटमा अधिकृत नआउँदा नायबसुब्बालाई कामु बनाएर सिँजा क्षेत्रबाट नागरिकता वितरण भइरहेको थियो । करिब दुई महिनाअघि नायबसुब्बा सुतबहादुर गिरीको अवधि सकिएपछि सिँजा क्षेत्रमा नागरिकता वितरण कार्यसमेत प्रभावित भएको थियो ।
सो अवधिमा इलाका प्रशासनमा नागरिकता वितरणका कागजात तयार गरेर सदरमुकाम खलंगास्थित जिल्ला प्रशासन कार्यालय आएर हस्ताक्षर गराइँदै आएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो ।