INSEC Online

📅 २०८३ जेष्ठ २१

दक्ष जनशक्ति नहुँदा बालबालिका गुणस्तरिय शिक्षाबाट वञ्चित

मायाँदेवी गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा बिषयगत शिक्षक नहुँदा बालबालिकाहरू गुणस्तरिय शिक्षाबाट वञ्चित भएका छन् ।

गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयमा आर्थिक वर्ष ०७९ असार ३१ गते गाउँपालिकाले स्वयंमसेवक शिक्षकलाई हटाएपछि विद्यालयमा समस्या परेको हो ।

स्वतन्त्र माविमा १५ जना शिक्षक निकालेको र पदपूर्ति नगरे पछि कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूका लागि एक जना शिक्षकले पढाउन बाध्य भएको शिक्षकहरूको गुनासो छ ।

श्री स्वतन्त्र मावि रतनपुरमा गर्दा भौतिक पूर्वाधार पूर्णरुपमा भए पनि निमाविदेखि माविसम्म बिज्ञान , गणित, अंग्रेजी र नेपालीको बिषयगत शिक्षकको अभाव दिलिपकुमार बरईले बताउनु भयो ।

मायाँदेवि गाउँपालिकाले ०७९ असार मसान्तमा १५ जना स्वयंसेवक शिक्षहरुलाई हटाएपनि  ०७९ पुस १२ गते तीन जना मात्र स्वयंसेवक शिक्षक नियुक्त गरेको थियो ।  ४ सय ९५ जना बिद्यार्थीहरू रहेको उक्त विद्यालयमा शिक्षकको अभावका कारण एक जना शिक्षकले एक घण्टीमा तिन बिषय पढाउनु परेको बिद्यालयमा प्रधानाध्यापक अहम्मद गुलामले बताउनु भयो ।

यस्तै जनता मावि, बलुहवामा पनि सोही समयमा सात जना स्वयंमसेवक शिक्षकलाई हटाएको दुई जना शिक्षकलाई न्यूक्ति दिएर पाँच जनाको स्थान खालि रहेको छ । जनप्रतिनिधिहरूले आफ्ना बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा नपढाएसम्म सामुदायिक विद्यालयको अवस्था सुधार नहुने विद्यालयमा प्रधानाध्यापक रामनिवास चौहानले बताउनु भयो । “बिषयगत शिक्षक नै छैनन् कसरी बालबालिकाले गुणस्तरिय शिक्षा प्राप्त गर्न सक्छन ।,” चौहानले भन्नु भयो ।

जनता माविको कक्षा १२ अध्ययनरत विद्यार्थी इसरार अहम्मदले अंग्रेजी, नेपाली ,स्वास्थ्य लगायतका बिषयगत शिक्षकहरू नहुँदा गुणस्तरिय शिक्षा प्राप्त गर्न नसकिएको बताउनु भयो । राज्यको नीती अनुसार आधारभूततह र माध्यमिक तहसम्म गुणस्तरिय शिक्षा भनिए पनि कार्यान्वय हुन नसकेको इसरारले बताउनु भयो ।

मायाँदेवी गाउँपालिका शिक्षा शाखा प्रमुख माधवप्रसाद घिमिरेले गत आर्थिक वर्षको असार ३१ गते ८७ जना स्वयंसेवक शिक्षकलाई निकाले पछि तत्काल स्थानीय तहले नियुक्ति नगर्दा माध्यमिक तहका विद्यालयहरूमा समस्या रहेको बताउनु भयो ।

अन्य

भिडियो