
बिन्दबासिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिछानेलाई ०८० असोज ३० गते वडा नं. १ का वडाध्यक्ष अच्छेलाल महतो र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चौरसियाले दुर्व्यवहार गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले सेवा प्रवाह बन्द गरेका छन् ।
कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारबाहीको माग गर्दै गाउँपालिकाका कर्मचारीहरू ०८० असोज ३० गते नै सहायक सिडिओ शिव कुमार लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने, रामेन्द्रनाथ तिवारी लगायतको गाउँपालिकाका कर्मचारीहरूले घटना भए लगत्तै जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक सिडिओ लम्साललाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्षद्वय उपर कारबाहीको माग गरेका हुन् ।
कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्षहरू माथि कानुन बमोजिम कारबाही पक्रिया अगाडि नबढेसम्मको लागि गाउँपालिकाको सेवा प्रवाह समेत कर्मचारीहरूले बन्द गरेका छन् ।
गाउँपालिकाको सभाहलमा आसमान नेपालले आयोजना गरेको रियल प्लान सम्बन्धि अभिमुखिकरण कार्यक्रममा वडाध्यक्ष महतो र चौरसियाले आफूलाई दुर्व्यवहार गरेको शिक्षा शाखा प्रमुख लामिछानेले बताउनु भायो । कार्यक्रमको अन्तिममा आएर वडाध्यक्ष चौरसियाले शिक्षक सरुवाको विषयलाई लिएर आफूमाथि गालीगलौज गर्दै कुटपिट गर्ने प्रयास समेत गरेको उहाँले बताउनु भयो । चौरसियासँगै रहेका वडाध्यक्ष महतोले समेत शिक्षक सरुवाको विषयमा अपशब्द प्रयोग गरेको लामिछानेले बताउनु भयो ।
शिक्षा समिति र शिक्षक सरुवाको बिषयमा शिक्षा शाखा प्रमुखबाट जानकारी लिन खोज्दा सामान्य वादबिवाद मात्र भएको आफूहरूले कसैलाई दुर्व्यवहार नगरेको वडाध्यक्ष चौरसियाले बताउनु भयो ।
गाउँपालिकाको कर्मचारीहरूले संयुक्त रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय जनसमुदायसँग प्रत्यक्ष कामकाज गर्ने कर्मचारीलाई गालीगलौज गरी मनोबल खस्काउने कार्य भएको भन्दै घटनाको भर्तसना समेत गरेका छन् । गाउँ कार्यपालिका कार्यालयको सभा हलमा आसमान नेपालले आयोजना गरेको कार्यक्रममा शिक्षक सरुवाको विषयलाई लिएर वडाध्यक्षद्वयले शिक्षा शाखा प्रमुख र केही प्रधानाध्यापकहरूलाई गालीगलौज गर्नुको साथै कुटपिट गर्ने धम्की समेत दिएको कर्मचारीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसै बीच स्थानीय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिकाले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्षहरूमाथि कारबाहीको माग गरेको छ ।
कर्मचारी हकहित मञ्चका अध्यक्ष रामाधार प्रसाद चौरसियाले प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्षहरू माथि कारबाही पक्रिया अगाडि नबढेसम्म गाउँपालिकाको सम्पूर्ण सेवा बन्द रहने समेत जनाएका छन् ।
